बेवारिसे गाईबाच्छाका लागि देउसी भैलोबाट उठ्यो १ लाख ७५ हजार

everest kitchen

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षण गरिएका गाईबाच्छाका सहयोगस्वरूप लागि रु एक लाख ७५ हजार उपलब्ध गराइएको छ ।

तिहारका अवसरमा देउसी भैलो खेली सहयोग रकम जुटाइएको बेवारिसे गाईबाच्छा संरक्षण अभियानकर्मी ईश्वर पुडासैनीले बताए । गाईबाच्छा संरक्षणस्थलमै भएको देउसी भैलो कार्यक्रममा करिब २०० भन्दा बढी मानिसको सहभागिता थियो ।

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका–७ का अध्यक्ष केशव गुरुङ र वडा नं ८ का अध्यक्ष मनोज ढुङ्गाना, कागेश्वरी मनोहरा नगरपालिका–८ का अध्यक्ष श्रीप्रसाद चापागाईंलगायत स्थानीय तहका जनप्रतिनिधिको पनि देउसी भैलोमा सहभागिता थियो ।

सडकमा छोडिएका १०० भन्दा बढी गाईबाच्छालाई अभियानकर्मीले संरक्षण गर्दै आएका छन् । संरक्षणस्थलमा गाईको सङ्ख्या थपघट भइरहने गरेको छ ।

कोरोना महामारीका कारण विसं २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी गरिएका बेला सडकमा गाईबाच्छा बढ्न थालेकाले कोषले गौशाला बनाउन जग्गा उपलब्ध गराएको थियो । यहाँ २०७७ जेठ २ गतेदेखि गाईबाच्छा संरक्षण गर्न थालिएकोे अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए ।

देउसी, भैलौ, जन्मदिनलगायत दाताले दिने सहयोगबाट १०० भन्दा बढी गाईबाच्छाको संरक्षण हुँदै आएको छ । अभियानमा केही अभियानकर्मीले स्वयंसेवीका रुमपा सहयोग गर्दै आएको पनि जनाइएको छ ।