रुकुमको मुसीकोटमा व्यवसायीक गाई पालन सुरुवात गरिदै

everest kitchen

रुकुम । रुकुम (पश्चिम)को मुसीकोट नगरपालिकामा व्यवसायीक गाई पालन थालिएको छ । मुसीकोट नगरपालिका, पशु अस्पताल तथा पशु सेवा कार्यालय र किसानको सयुंक्त लगानीमा गाई पालन थालिएको हो ।

मुसीकोट नगरपालिका वडा नम्बर १३ मा होलेस्टेन जातका गाई ल्याएर गाई पालन थालिएको छ । दुधबाट आम्दानी गर्ने लक्ष राखिएको कार्यक्रमकाे पहिलो चरणमा दुई वटा दुहुना गाई आइपुगेका छन् ।

गाई ब्लक सञ्चालन समितिका सदस्य एबं १३ नम्बर वडाका कृषक तिलक ओली र विरबहादुर ओलीले एक-एक वटा दुहुना गाई ल्याएका छन् भने नगरपालिकाका ६, ७, १३ र १४ लगायतका अन्य वडामा पनि यसै आर्थिक वर्षमा १ सय २० वटा गाई आउने मुसीकोट नगरपालिकाको पशु शाखा प्रमुख सरस्वती सापकोटाले जानकारी दिए ।

शुरुको चरणमा २ वटा गाई आएको र अरु गाई आउने क्रममा रहेको सापकोटाले बताए । किसानलाई व्यवसायिक बनाउका लागि गाई ल्याउने योजना बनाइएको हो ।

गाई पालनका लागि मुसीकोट नगरपालिका र पशु अस्पताल तथा पशु सेवा कार्यालयले ५० प्रतिशत र किसान स्वयमले ५० प्रतिशत रकम लगानी गरेका छन् ।

१ सय २० गाई खरिदका लागि मुसीकोट नगरपालिकाले ४५ लाख, पशु अस्पताल तथा पशु सेवा कार्यालयले ४५ लाख गरी ९० लाख र किसानको ९० लाख गरी १ करोड ८० लाख बजेट विनियोजन गरिएको मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले जानकारी दिए ।

उनका अनुसार यही बजेटबाट ल्याइएका गाई किसानले व्यक्तिगत रुपमा पालन पोषण गरी त्यसबाट आम्दानी गर्ने छन् । शुरुमा १३ नम्बर वडामा गाई ल्याएर वितरण गर्ने र अरु वडामा पनि क्रमशः गाई वितरण गरिने नगरपालिकाले जनाएको छ ।

पहिलाे चरणमा ल्याइएका गाई कृषकलाई हस्तान्तरण गर्दै नगरपालिका उप प्रमुख प्रेमकुमारी सुनारले हरेक कुरालाई व्यवसायिकतामा जोड्ने र त्यसका लागि गाई ल्याउने अवधारणा अनुसार काम सुरु गरिएको बताए । (धनकुमार शाही)