लघुकथा – बाध्यता
निरू गौतम मोरङ
बिराटनगरमा हवाइजहाज अवतरण भएपछि गह्रुङ्गा दुई झोला घिसार्दै सवारी साधनको खोजीमा आँखा दौडिए मेरा । ” कहाँ जाने हजुर ट्याक्सी चाहियो भन्दै त कोही सफारी लिएर कराउन थाले, मेरो नजिकै लगभग असीको उमेरको एक वृद्ध पुरानो गम्छाले पसिना पुछ्दै, “हजुर म पाँचै मिनेटमा बसपार्क पुर्याइदिन्छु मेरो रिक्सामा चढ्नुहोस् न म गरीब मान्छे” भनेर हात जोड्यो ।
एक जमाना रिक्साको थियो । जताततै रिक्सा दौडिन्थे । केही बर्ष यता अन्य आधुनिक सवारी साधन भित्रिएपछि रिक्सा विस्थापनमा परे । गरीबको गाँस खोसियो । रिक्सामा चढ्ने पाखे वा गरीब हुन थाले । कसैको नजर रिक्सामा पर्न छोड्यो ।
उसको विवशतापूर्ण अनुरोधले म विक्षिप्त भएँ । उसले गह्रुङ्गा झोला घिसार्दै रिक्सातिर कदम चाल्यो ,म पछिपछि लागेँ । मैले सोधें, “कति भाडा बा ?” उसले “१५०” भन्यो । मैले हाँस्तै “१००होला” भनेँ मलाई थाहा थियो भाडादर । ऊ आत्तिँदै “हुदैँन हजुर मैंले यही पैसाले परिवार पाल्नु पर्छ भन्यो । म फेरि विक्षिप्त भएँ ।
ऊ पसिना चुहाउँदै रिक्सा पेल्न थाल्यो । बसेर खाने उमेरमा परिवारको जिम्मेवारी त्यो बुढो काँधले कतिदिन धान्ला ! रिक्साबाट ओर्लिएर ऊ गएको बाटो हेरिरहेँ …….!!!