नेपाली काङ्ग्रेस मकवानपुर प्रदेशसभा -२ ‘ख’ मा रामकृष्ण प्रजा प्यानलको उमेदवारी घोषणा

everest kitchen

हेटौंडा । नेपाली कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशनको लागि मकवानपुरको क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ क्षेत्रीय सभापतिमा राक्सिराङ गाउँपालिकाका वडा अध्यक्ष समेत रहेका कांग्रेस नेता रामकृष्ण प्रजाले प्यानल घोषणा गरेका छन् ।

बिहीबार अबेर हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले सभापति पदमा आफ्नो उम्मेदवारी रहने जानकारी दिँदै प्यानल घोषणा गरेका हुन् ।

उनको प्यानलबाट उपसभापतिमा मुक्तिनाथ अधिकारी र राजकुमार ब्लोन, सचिवमा सिद्धलाल लामा र रामकृष्ण गुरुङ तथा सहसचिवमा राजेश अधिकारी र ज्ञानबहादुर घलान रहेका छन् ।

प्रजाको प्यानलबाट बागमती प्रदेश महाधिवेशन प्रतिनिधिमा महिलातर्फ पवित्रा अर्याल, चन्द्रावती लटौला र चरिमाया नेगी, खुलातर्फ रत्नबहादुर ब्लोन, जगन्नाथ अधिकारी, सानुबाबु लामा ‘निर्मल’, दीपक नगरकोटी, बलिन्द्र ब्लोन, ज्ञानबहादुर पाख्रीन र मनिकलाल रुम्बा, आदिवासी जनजाति महिलातर्फ सावित्री थिङ र जमुना गुरुङ, आदिवासी जनजाति पुरुषतर्फ टेक पाख्रीन, मित्रलाल मुक्तान र बीरबहादुर थिङ, खसआर्य तर्फ प्रलाद अर्याल, अल्पसंख्यकतर्फ विन्दु प्रजा र दलित प्रतिनिधिमा ईन्द्र बिक रहेका छन् ।

क्षेत्रीय सभापतिका दावेदार प्रजाले अबको निर्वाचनमा वडा, पालिका, प्रदेशसभा र संघमा कांग्रेसलाई निर्वाचन जिताउने गरी संगठन बनाउन आफ्नो उम्मेदवारी भएको बताए । ‘राक्सिराङ कांग्रेसको जितलाई निरन्तरता दिँदै मनहरी र कैलाश गाउँपालिकासँगै हेटौंडाको ३ र १९ नम्बर वडामा पनि कांग्रेसलाई जिताउनेछौं’, उनले भने । कांग्रेस गरिबको पनि पार्टी हो भन्ने प्रमाणित गर्न आफू र आफ्नो टिमले चुनाव जित्ने उनको दावी थियो ।

पत्रकार सम्मेलनमा कांग्रेस मकवानपुरका सल्लाहकार उमा दाहाल, नेता शंकर न्यौपाने, मनहरी गाउँपालिकाका निवर्तमान सभापति नारायण उप्रेती, तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठक, कांग्रेस महाधिवेशन प्रतिनिधि टेकनाथ शिवाकोटीलगायतको उपस्थिती थियो ।