लक्ष्मण थापाका चार मुक्तक

everest kitchen

मुक्तक१
सखारै सूर्यका बाहुहरूले धर्तीलाई अँगालोमा बेर्छन्
आँखा खुल्ने बित्तिकै,त्यो,बचेराहरू चकित परेर हेर्छन्
तिमी बदलियौ, म बदलिएँ, तेस्मा के अनौठो भयो र ?
ऋतु बदलिए पछि रुखहरूले पनि पातको पनि रंग फेर्छन् !

मुक्तक:-२
यो कस्तो मौसम,कस्तो हावा चलेको हो ।
कस्तो थियो विउ र कस्तो फल फलेको हो ।
धुवाँ धुवाँ छ वरिपरी आँखाले देखेसम्म,
वन जलेको हो कि या कस्को मन जलेको हो ।

मुक्तक:- ३-
मान्छे जन्मन्छ र एउटा बिहान टेक्दछ ।
कैले पहाडको फेदी कैले सिरान टेक्दछ ।
अहंको कालो घोडा चढी हिडेको बेला,
भुल्छ,हरेक पाइलाको पछि चिहान टेक्दछ ।

मुक्तक ४
आकाश निलो होस्, रगत रातो होस् !
कलममा मसी होस्, पुस्तकमा गातो होस् !
मान्छेको जीवन,जीवन जस्तो हुन
आँखामा पानी होस्, मुटुमा तातो होस् !