त्रिवेणी गाउँपालिका अस्पतालमा २४ घण्टा सेवा सञ्चालन: कार्तिक यतामात्रै २ सय ८४ जनाले सेवा लिए

everest kitchen

रुकुम । रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिकाको खारानेटामा रहेको “त्रिवेणी गाउँपालिका अस्पताल”मा हाल नियमित २४ घण्टा ईमर्जेन्सी सेवा सञ्चालन रहेको छ। चिकित्सक (डाक्टर)को सेवासहित नियमित ईमर्जेन्सी सेवा सञ्चालनमा रहेको उक्त अस्पतालमा हाल बिरामी बढ्न थालेका छन् ।

यसअघि कोभिड-१९ को समयमा डाक्टरको सेवासहित आईसोलेसन सेन्टरको रुपमा सञ्चालनमा रहेको गाउँपालिका अस्पताल दशै यता नियमित २४ घण्टा सेवा सञ्चालनमा रहदै आएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रेम पुनले जानकारी दिए ।

दशैयता हालसम्म २ सय ८४ जनाले स्वास्थ सेवा लिएको अस्पतालले जनाएको छ । साथैै हालसम्म १२ जनालाई सुत्केरी गराईएको स्वास्थ शाखा प्रमुख पुनले बताए । जसमा कार्तिकमा मात्रै ५ जनालाई सफल प्रसुती सेवा दिईएको हो ।

अस्पतालमा हाल भिडियो एक्सरे सेवासहित , दिशा, पिसाब, रगत, खकार लगायतको प्रयोगशाला परिक्षण हुने गरेकोमा सेवालाई थप स्तरीय बनाउन आवश्यक किट अभाव रहेको बताएको छ ।

हाल करिब १ दर्जनबढी स्वास्थ कर्मचारी खटाएर २४ घण्टा सेवा दिईरहेको अस्पतालमा थप जनशक्ति र बजेट अभाव व्यवस्थापन गरेर स्तरीय सेवादिन हरदम प्रयास गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अस्पतालमा आवश्यक स्वास्थ्य सामाग्री र स्तरीय सेवाका लागि गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्तीको नेतृत्वमा आवश्यक कदम चालेको गाउँपालिका निमित्त प्रशासकीय अधिकृत रमेश पुनले जानकारी दिए। साथै, लगत्तै अस्पतालमा आवश्यक डिजिटल एक्सरे मेसिन जडानको लागि पहल थालेको अधिकृत पुनले जानकारी दिए ।