लघुकथा-तस्वीर बाको
शेषमणि आचार्य
सरिता आँखा भरी आँसु बनाएर ससुराबाको भित्तामा टाँसेको फोटो झिकेर पुछ्न थालिन्।नातिनीले हजुरबाको फोटो हेरिरहिन्।उनले सोधिन्:-हजुर बा आज आउनु हुन्छ?
सरिताले भनिन्:–आउनु हुन्न।
किन त,यो फोटो पुछ्नु भ’को ?
सरिताले भनिन्:–आज हजुरबाको श्राद्ध हो।
किन आज पुछ्नुपर्छ फोटो?
सरिता केही बोलिनन्।
नातनीले भनिन्:–हाम्रा हजुरबाले हामीलाई अहिले भको भए कति धेरै माया गर्नुहुन्थ्यो होला है!!
उनले फेरि सोधिन्:–मम,हजुर बा त मामाघर हुनुन्छ नि,किन जानुभको नि!
यो फोटो त हैन नि।
सरिता अवाक् भइन्।हो उनका हजुरबा ती पनि हुन्,यी पनि हुन्।सरितालाई यी दुवैले माया दिएका थिए,एउटाले जन्मघरबाट,अर्काले कर्मघरबाट।बिहेमा दुलै अन्माउने बेला उनले संधीलाई भनेका थिए,–म हजुरको अभाव खट्कन दिनेछैन,आजबाट मेरा दुई छोरी भए।
घरमा कहिल्यै छोरी र बुहारीलाई फरक गरेनन्।सरिताले पनि ससुरालाई बाजस्तै संम्झिइन्।तर आज सुसुरा बा तस्वीरमा मात्र मुस्कुराइरहेका थिए।अचेल वर्षको दुई दिन सरिताले ससुराको तस्वीर सफा गर्दै सयपत्रीको माला लगाइदिन्थिन्,नातिनीले यो हेरिरहन्थिन्।उनले हजुरबालाई फोटोमा मात्र चिनिन्।सरिताले ससुरालाई सधैँ बा भनेर बोलाइरहिन्।