सुन तस्करीको आशंका : विदेशबाट आउनेमा सुरक्षा जाँचमा कडाइ

everest kitchen
photo file

काठमाडौँ । सुन तस्करीको आशंकामा विदेशबाट फर्किएकाहरूलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने चेक जाँचमा कडाइ गरिएको छ । दुबई, कतार र मलेशियाबाट नेपाल आएका यात्रुहरूलाई विमानस्थल भन्सारले कडाइका साथ चेक जाँच गर्न थालेको हो ।

चेकजाँचमा कडाइ गर्न थालेपछि विमानस्थलमा सोमवारदेखि भीड बढेको छ । विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईका अनुसार विदेशबाट फर्किएका यात्रुमार्फत बाला बनाएर काँचो सुन भित्र्याउने गरेको आशंकामा जाँचमा कडाइ गरिएको बताए ।

उनका अनुसार झिटीगुन्टा सहुलियतको दुरुपयोग भएको हो कि भन्ने आंशकामा यात्रु जाँचमा कडाइ गरिएको हो ।

रोजगारीबाट फर्किएका नेपालीहरूलाई तस्करहरूले फसाएर सुन पठाउन सक्ने जोखिम बढेको सूचना पाएपछि नियमभन्दा बाहिरबाट ल्याइएको सुनको राजस्व तिर्न कडाइ गरिएको भट्टराईले दाबी गरे ।

झिटीगुन्टा नियमअनुसार गहनाका रूपमा ५० ग्रामसम्म सुन ल्याउने यात्रुले राजस्व तिर्नु पर्दैन । तर, त्योभन्दा बढी २ सय ग्रामसम्म गहनाका रूपमा सुन ल्याउने यात्रुले राजस्व तिर्नुपर्नेछ ।

यस्तै ५० ग्राम वा त्योभन्दा बढी कच्चा सुन कुनै पनि बहानामा भित्र्याए राजस्व तिर्न अनिवार्य गरिएको भट्टराईले बताए । ‘कच्चा सुनलाई बालाजस्तो आकार दिएर नेपाल भित्र्याउनेलाई कडाइ गरिएको छ,’ भन्सार प्रमुख भट्टराईले बताए ।

नेपालमा अवैध सुन भित्रिन सक्ने साउदी अरब, दुबई र मलेशियाबाट आउने यात्रुहरूमाथिको चेक जाँच उच्च प्राथमिकतामा परेको भन्सार कार्यालयले जनाएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।