विपेन उलङगे
रुकुम । रुकुम (पश्चिम) त्रिवेणी गाउँपालिका-६ विताकी नन्दकली परियार यतिबेला जीवन मरणको दोसाँधमा छिन् । घरको आर्थिक अवस्था निकै नै कम्जोर भएकी उनको देब्रे खुट्टाको हड्डी क्यान्सर (हड्डी धुलो परेको)ले उपचार अभावमा थलिएकी हुन ।
पहिलोपटक विहे गरेका श्रीमानले राम्रो नगरेर छोडेपछि त्रिवेणी -६ का वईले दमाईसंग करिब तीन दशकअघि दोस्रो बिहेगरेकी उनको सुरुमा त राम्रो नै थियो । श्रीमानले गाउँमा कपडा सिलाएर विष्ट कमाउने र नन्दकलीले श्रीमानलाई सघाउने गर्ने गर्थिन ।
विस्तारै दुई छोरा, दुई छोरीहरुलाई पनि हुर्काई सक्न लागेका उनीहरुको परम्परागत रुपमा गर्दै आएको सिलाई पेसा ओझेलमा पर्दै गएको थियो । विस्तारै नयाँ शैलीका फेसन(फेन्सी) को जमना आएपछि उनीहरुको खलो मागेर खाने आधार भएको सिलाई पेसाबाट पनि हात धुन पर्यो । उनीहरुको परम्परागत पेसा धरापमा भएपछि छोराहरुलाई सानैमा भारत पठाउन थाले ।
भारतको रोजगारले पनि परिवार चल्न नसकेपछि ऋण गरेर जेठा छोरा यम बहादुर परियारलाई मलेसिया पठाए । करिब सात वर्ष अघि मलेसिया पुगेका याम बहादुर कम्पनीमा काम गर्ने साथिहरुको झगडामा परे । झगडामा एकजनाको मृत्यु भएपछि त्यसयता उनी मलेसियाको जेलमा छन् । त्यतिबेला भर्खरै मलेसिया पुगेका उनलाई त्यहाँको भाषा तथा नियम कानुनको बारेमा थाहा नहुदा साथीहरूले फसाएको परिवारले बताउछन ।
“कमाउने आधार भएको जेठा छोरो पनि मलेसियाको जेलमा परेपछि उल्टै यताबाट ऋण गरेर भएपनि उसको लागि खर्च र वकिल खर्चसमेत यताबाट पठाउनु पर्दा ठुलो संकट आईलागेको छ । त्यसमा पनि मेरो यसअघि स्तन क्यान्सर हुदा स्तन काटेर फाल्दाको खर्चले हाम्रो सबै सकियो, बाँच्ने आधारै सकियो मेरो त!, यो खुट्टाको रातदिन दुखाइ सहनु भन्दा कसैले मारिदिए हुन्थ्यो जस्तो लाग्छ, नन्दकलिले रुदैं भनिन् ।
उनले रुदैं थपिन, “गाउँमा थोरै भएपनि जग्गा जोडेका थियौ, उक्त जग्गा पनि जनयुद्धको क्रममा माओवादी सरकारमा पास गरेका थियौं, तर अहिले आएर मालपोतमा पास गर्दा जग्गाको मुल्य बराबरको खर्च फेरी गर्न पर्यो त्यसले पनि ऋण थपेको छ।”
नन्दकीको दु:ख यतिमात्र सिमित छैन: उनको हालसम्म पनि नयाँ नागरिकता बन्न सकेको छैन । उनका कान्छा छोरा जीवन परियारका अनुसार, नन्दकलीको पहिलाको श्रीमानबाट नागरिकता बनेको तर उक्त नागरिक्ता पनि हराएको र ती पूर्वश्रीमानको पनि निधन भईसकेकोले नयाँ नागरिकता लिन समस्या परेको हो ।
अहिले नन्दकलीका छोरा जीवले नै उनको हेरचाह गर्दै आएका छन् । रातदिन आमाको हेरचाह गर्नुपर्दा कुनैपनि आयआर्जनको काम गर्न सकिने अवस्था छैन, “जीवनले भने, “आर्थिक अभावले नै भारतमा उपचार गर्दागर्दै घरमा फर्काएको हो । कहि कतैबाट सहयोग मिले एकपटक आमाको थप उपचार गर्न चितवन लिने भनेको हो, एक पैसा पनि आफुसंग नहुदा थप उपचार गर्न लिन सकिएको छैन, जीवनले भने ।
जीवनका अनुसार, नन्दकलीलाई गुवाको “जिएमसी अस्पताल”मा १ वर्षपहिले उपचार गरको र त्यहाँबाट मुम्बईको “टाटा अस्पताल”मा रिफर गरेपछि खर्च अभावले नेपाल फर्किएको हो ।
गुवामा “गुवा नेपाली समाजले” १ लाख ८० हजार सहयोग उठाएर सहयोग गरेको थियो । कम्तीमा १० लाख खर्च अनुमान गरिएकोमा उक्त सहयोग रकमले थोरै राहत भएको र त्यसपछि कोभिड-१९ प्रकोपले थप सहयोग जुटाएर उपचार गर्न सम्भव नभएपछि नन्दकलीलाई नेपाल फर्काइएको जीवनले बताए ।
यसअघि त्रिवेणी गाउँपालिकाले- ६ हजार नगद सहयोग गरेको उनले बताए । गाउँपालिकाको सिफारिसमा एक लाखसम्मको नि:शुल्क क्यान्सर उपचार सरकारले गर्ने भएपनि नयाँ नागरिकता नबन्दा समस्या भएको जीवनले बताए । उनका अनुसार नागरिकता बनाउने बारे वडनअध्यक्ष राजेन्द्र पुन लगायतले पहल थालेकोले नागरिकता छिट्टै बन्ने सक्ने आशा भने रहेको छ ।
अहिले नन्दकलीको परिवारमा क्यान्सर उपचार गर्न त परैको कुरो साँझ बिहान खानासमेत धौधौ भएको नन्दकलीका छोरा जीवनले दु:ख पोखे । भर्खरै उमेर पुग्दै गरेका उनले भने, “यो उमेरमा खानलाउन जुटाउन समेत धौधौ भयो, कतै काम खोज्न जान र काम गर्न समेत सकिएको छैन ।
नोट: नन्दकलीको परियारको उपचारमा सहयोग गर्न चाहानेले उनको छोरा जीवन परियारको फोन: 9829574023 अथवा विपेन 9840898420 मा सम्पर्क गर्न सक्नुहुनेछ ।