त्रिवेणीमा रुकुमकै पहिलो नाईट ल्यान्डिङ हेलिप्याड निर्माणको अन्तिम चरणमा

everest kitchen

रुकुम । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकाको खारा स्थित खारा व्यारेकमा जिल्ला कै पहिलो नाईट ल्यान्डिङ हेलिप्याड निर्माणको अन्तिम चरणमा रहेको छ । नेपाली सेनाका उपसेनानी शिव थापा नेतृत्वको खारा व्यारेकमा रहेको “नरसिङ दल गुल्म” र ईश्वरी बक्स गुल्म”को नेपाली सेनाको श्रमदान र त्रिवेणी गाउँपालिकाको लगानीमा उक्त हेलिप्याड बन्न लागेको हो ।

हेलिप्याड निर्माणको अन्तिम चरणमा रहेको र उक्त संरचनाको निर्माण तुरुन्तै सकिने गरि आफुहरुले काम सञ्चालन गरेको उपसेनानी थापाले बताए । थापाका अनुसार उक्त हेलिप्याडमा नाईट ल्यान्डिङको लागि आवश्यक लाईट जडानको तयारी थालिएको छ ।

हेलिप्याड निर्माणमा करिब १२ लाख लागतको स्टामेट गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख अमर पुनले बताए । उनका अनुसार गाउँपालिको अत्यावश्यक संरचना अन्तर्गत हेलिप्याड निर्माण थालिएको हो ।

यसअघि नै अस्थायी रुपमा नेपाली सेनाले सञ्चालनमा ल्याईरहेको खारा व्यारेक स्थित हेलिप्याडलाई नै नाईट ल्यान्डिङ हेलिप्याडको रुपमा निर्माण थालिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले जानकारी दिए ।

त्यस्तै, गाउँपालिका भरिका सर्वसाधारण तथा जो सुकैलाई आवश्यक परेको खण्डमा उक्त हेलिप्याड जतिबेला पनि प्रयोग गर्न सकिने गरि निर्माण थालिएको गाउँपालिका अध्यक्ष अध्यक्ष झक्कु प्रसाद घर्ती “अभियान”ले बताए ।

अध्यक्ष घर्तीका अनुसार, गाउँपालिकामा आफुहरुले अत्यावश्यक सेवाको रुपमा सहुलियत एमेबुलेन्स सेवा सञ्चालनसमेत गरेको र जनतालाई थप अत्यावश्यक सेवाको रुपमा २४ घण्टे “ल्यान्डिङ हेलिप्याड” निर्माण थालिएको हो । गाउँपालिका भित्रका अन्य स्थानलाई पनि मध्यनजर गरेर उपयुक्त स्थान उक्त ठाउँ रहेकोले उक्त स्थानमा सार्वजनिक हेलिप्याड निर्माण थालिएको हो ।

गाउँपालिका भित्रको मातृमृत्यु दर कम गर्ने गरि गाउँपालिकाले “उत्तर प्रसुती स्याहार सेवा” कार्यक्रमसमेत सञ्चालन गरेको अध्यक्ष घर्तीले बताए । घर्तीले भने, “सुत्केरी पूर्व र सुत्केरी पश्चात् महिलामा हुने विभित्र जोखिमलाई मध्यनजर गरेर हेलिप्याड निर्माण थालिएको छ।” सुत्केरी महिलालाई मात्रै नभई अन्य बिरामीलाई पनि अत्यावश्यक उद्धार कार्यमा सहज हुने उनले विश्वास व्यक्त गरे ।