लघुकथा : कसि
उमेश कार्की
टाकुरामाथी सानो बादलको घेरो,क्षणभरमै बर्षात! गड्गडाउदै उर्लियो खहरे! फेरि उस्ताको उस्तै।
“ठुलो गड्गडाउने खहरे होइन बरु सानो तर सदाबहार खोल्सी बन्न सकुँ,तिमी जरुवा बनेर त्राण भरिदिइरहनु है प्रकाश !” मसिनो स्वरमा बोलेकी थिइन् ज्योती । प्रकाशले भरोसा दिलाएको थियो।
बादलको रुपजस्तो मन हुनेहरु कतिखेर बदलिन्छन् दैब पनि नजानुन् । एकदिन खुशी हुदै भनेकी थिइन् – “प्रकाश ! बधाई छ हामिलाइ !” “तर किन?” ” हामी चाँडै बाआमा बन्दै छौं ।” “मजाक ? यस्तो मजाक नगर न ज्योती।”केही आत्तिए जस्तो,डराए जस्तो थर्थराएको आवाजमा बोल्यो ऊ। “हो प्रकाश! यो मजाक हैन ,सत्य हो।” उनले दृढताका साथ भनिन् । “मैले यो अपेक्षा गरेको थिइन।म खुशी छैन यसमा”उसले असन्तोष व्यक्त गर्यो ।
मैलेपनी त तिमी बाट त्यो अपेक्षा गरेको थिइन तर… जे नहुनु थियो,भयो ,हैन र? प्रकाश !अब गुनासो पश्चताप हैन,नयाँ ढंगले अलि जिम्मेवार बनेर अगाडि बढ्नु पर्छ।
“ठिकै छ ,उसो भए भोलि अस्पताल जाने र गर्भपतन गराउने ! “अनौठो प्रस्ताव सुनेर हैरान बनेकी ज्योतीले जवाफ फर्काइन् ” कुनै हालतमा म बाट यो काम हुदैन। बरु मर्न तयार छु।”
” त्यसो भए जे सुकै गर।” प्रकाश तर्किन खोज्यो।
एउटा शुन्दर सपना सजाउदै आफ्नो पृयतमलाइ भेट्न पुगेकी ज्योती कहालीलाग्दो बिपनामा फसिन् । प्रेमको निशानी मेटाउने वा बचाउने विषयमा विवाद बढ्दै गयो।प्रकाश सपना देखाउदै भन्थ्यो “हामी बर्बाद हुन्छौं ।” ज्योती भावना व्यक्त गर्दै भन्थिन् ” यो त हाम्रो अहोभाग्य हो।”
कुनैपनी हालतमा गर्भपतन गराउनु पर्ने अडान राख्दै हिंड्न् खोजेको प्रकाशलाई रोकेर क्रोधले घृणाले दुत्कार्दै भन्छिन् “जाउ जाउ! गैहाल। तिमी जाँदैमा मेरो जिन्दगी सुन्ने हुदैन । सुखमा रम्न चाहनेहरु दुखमा साथ दिन्छन् कि दिदैनन् जाँच्न चाहन्थेँ ,जाँचे । तिमी उतिर्ण हुन सकेनौ,मैले उत्तारित गर्न चाहिन। हामी बाआमा बन्न लागेको होइन,यो त तिम्रो सच्चाइ नाप्ने कसि हो कसि । ” (खाँदबारी ७, संखुवासभा )