लघुकथा – आँसुको रङ्ग
तारा पराजुली
`तपाईंको अनुहार त ठ्याक्कै रेखा थापाको जस्तो,ज्यान पनि झण्डै उस्तै,हाइट पनि उस्तै मझौला उचाई भएको,थोरै यो फेसको डण्डीफोर र दागहरु नहुने हो भने तपाईं मोडल सुहाउने र छ।´बरण्डामा ´ढोका अगाडि रहेको रातो कलरको खाली कुर्सी तानेर वस्दै ती अधबैँसे महिलाले फरर एकै सासमा बोलिन।एकैछिन पछि ठूलो साइडब्याग खोलेर केही निकाल्न खोजेजसो गर्दै थिइन्।चमेली फुरुक्क भइहाली रेखा थापाको उपमा पाएर।
`यो फेसवास,गुलावजल,यो टोनर,यो सन्सकृम,यो फाउण्डेशन लगाउनु अघि लगाउँने प्राइमर,यो राम्रो खालको फाउन्डेसन र यो कम्प्याक पाउडर एक महिना हरेक दिन नछुटाई लगाउनुस् छिटै अनुहार सफा भैहाल्छ,मलाई लाग्छ तपाईंको अनुहारको चाया पोतो दाग एकमहिनाभित्र कुनै अंश रहने छैन,।´
चमेलीले समर्थनको भावले टाउको मात्र हल्लाईरही।
`तपाइँको हिसाब डिस्काउनसहित चौँबीस सय असी भयो,साउमै घटेर दिएको समस्याले गर्दा नि दिदी!´
सानो पुरानो नोकिया फोनमा हिसाब थिचेपछि ती अधबैसेले भनिन्।
अनुहार चम्काउने आशमा चमेलीले भनेजति हिसाब बुझाई र सामान लिएर घरतिर लागि। `यति भए एक महिना नानीहरुलाई जाउलो खुवाउन त पुग्छ,के गर्नु दिदी!बाँच्नलाई कहिलेकाही झुट पनि बोल्नुपर्ने अवस्थामा पुर्यायो श्रीमान भनौदो अपराधीले,उ कान्छी लिएर हिंडेको सात बर्ष भो, न सम्पर्क छ,म एक्लैले चार चारजना छोराछोरी कसरी हुर्काउने बढाउने कसरी सकुँला…..?´
त्यसपछि उनको बोली रोकियो।पटक पटक हातले टाउकोमा हिर्काइरहिन्।अनुहारभरि कालो दाग र पोतोमाथि बगेका आँसु पुछ्दै रोइरहिन्।मैले आफैँलाई सोधें-अनुहारका दागहरु त औषधीले जालान्।मनमा गडेका असराल्ल दाग र चोटहरुको उपचार के? कृम पाउडर त भारी डिस्काउनमा बिकाउने उसले डिस्काउनमा आँसु लिन किन सकिन होला?उसको आँसुको रङ सधैं किन उस्तै?