लघुकथा -: घृणा
मन्दिरा चापागाईं
मिलेको शरीर लामोकेश ठिक्कको उचाई मास्कले ढाकिएर स्वप्निल आँखा र निधार मात्र देखिएको । बाटोमा धेरै पटक देखेको थियो शन्देशले उनीलाई । शान्त र गम्भीर स्वभाव सभ्य पहिरन देख्दा लाग्थ्यो ,एउटा सचेत फेसन डिजाइनर हुन् ।
एकापसमा परिचय भयो “खुशी जयसवाल “रहेछ उनको नाउँ । मिठो बोली , हरेक बिषयका गहन र तार्किक कुरा सुन्दा उमेरभन्दा धेरै परिपक्व भान हुने। एकदुई पटकको बोलचालमै साथी भए उनीहरु ।
एकदिन यु एन पार्क नजिकै भेट भयो । एकछिन बसेरै गफ गरौंन शन्देशले आग्रह गर्यो । “वास्तवमा भगवानले फ्रेसमुडमा बनाएछ्न खुशी तिमीलाई । ”
उनी भावुक बनिन् । मेरा बाबाअमाले औपचारिक शिक्षा नलिए पनि मलाई जहिल्यै अशल मान्छे बन्ने सपना देखाउनुभयो । पहिलेका दुई दाजुहरु बितेपछि म नै छोरा थिए वहाँहरुको ।”कोक्रो हल्लाउँने हातले बिश्व हल्लाउन सक्छन् ,मेहनत गरेर पढ” बाबाको यहि वाक्यलाई आदर्श मानें मैले । सबैले सर्बगुण सम्पन्न छ खुशी भन्दै मेरो तारिफ गर्थे । मलाई पनि ऎनाको अगाडि उभिँदा उमेरसङ्गै गालामा चढेको गुलावी लाली र आँखाको चन्चलताले झनै निखार थपेझैँ लाग्थ्यो ।
“पढाइ सकेर ईज्जतदार रास्ट्रसेवक बन्छु । मलाई के थाहा ? मेरै खुशी नाममा मात्र सिमित रहन्छ । कहिल्यै सोचिन भगवानले दिएको यहि रुप अभिसाप बन्ला भनेर । ” छोड्देउ यी सब किन यति भावुक ? ” मास्क खोलन ।” शन्देशले अनुरोध गर्यो । यही भेट नै अन्तिम हुने त होईन ? ऊनी तर्किदै पीडा पोखिरहिन् ।
“महिला रास्ट्रपति भएको देशमा महिलाहरु नै कहिलेसम्म असुरक्षित रहनुपर्ने ? ” लाखौं सपना कैद भएका उनका सुन्दर आँखा पीडा र आक्रोशले भरिए । “पुरुषहरुको खोक्रो अहंकारको निमित्त कहिलेसम्म एउटी युवतीले बलात्कार ,हत्या , एसिड आक्रमण र बेचबिखनको शिकार हुनुपर्ने ??”
जव मास्क खोलिन् ऊ तर्स्यो । प्रेमको अर्थ नै नबुझेकी म कसैको प्रस्ताव अस्वीकार गर्दा तेजाव आक्रमणमा परेँ । ”
के अब पनि तिमी मलाई माया गर्छौ ??
“मलाई त प्रेम र पुरुष शब्द देखिनै घृणा लाग्छ घृणा “।