बंगलादेशी श्रमिकका लागि पुनः ढोका खोल्दै मलेसिया

everest kitchen

काठमाडौँ । बंगलादेशका प्रवासी कल्याण एवम् रोजगार मन्त्री इमरान अहमदले मलेसियाले यस वर्षको अन्त्यसम्ममा बंगलादेशी कामदारका लागि रोजगारीको बजार पुनः खोल्ने बताएका छन् ।

मलेसियाले सन् २०१८ देखि बंगलादेशी कामदारलाई रोजगारी दिने प्रक्रियामा रोक लगाएको थियो । शुक्रबार सिलहट सर्किट हाउसमा संवाददाताहरूसँग कुराकानी गर्दै अहमदले भने, ‘मलेसिया सरकारले यस मुद्दामा हाम्रो सरकारसँग एक सम्झौता पत्र “एमओयू”मा हस्ताक्षर गर्न रुचि देखाएको छ ।

आवश्यक दस्तावेज प्राप्त भएपछि एक दुई दिनमा नै सम्झौताको मिति तय हुनेछ ।’ उनका अनुसार वृक्षारोपण, बागवानी, कृषि, उत्पादन, उत्खनन, निर्माण र घरेलु सेवामा श्रमिकलाई रोजगारीको बजार खोलिने तयारी गरिएको छ ।

मलेसिया बंगलादेशी श्रमिकका लागि सबैभन्दा लोकप्रिय गन्तव्यमध्ये एक हो । ब्युरो अफ म्यानपावर इम्प्लोयमेन्ट एन्ड ट्रेनिङका अनुसार सन् १९७६ र २०१९ को बीचमा मलेसियामा बंगालदेशका १० लाख ५७ हजार ५६ जनाले रोजगारी पाएका छन् ।

अहमदका अनुसार श्रमिकहरूलाई कानुनीरुपमा ग्रिस पठाउनका लागि अर्को सम्झौता गर्ने पनि तयारी गरिएको छ । बीबीसी