बेलायतमा एकैदिन कोरोना संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि

everest kitchen

काठमाडौँ । बुधबार बेलायतमा कोरोनाको रेकर्डस्तरको वृद्धि मापन गरिएको छ । बुधबार यहाँ ७८ हजार ६ सय १० नयाँ संक्रमित भेटिएका छन् जुन एक दिनमा भेटिएका संक्रमितको सर्वाधिक संख्या हो ।

यसअघि यसै वर्ष ८ जनवरीमा एक दिनमा अधिकतम ६८,०५३ संक्रमित भेटिएका थिए । यतिबेला बेलायतमा लकडाउन लागू गरिएको थियो । एक पत्रकार सम्मेलनका बेला मुख्य चिकित्सा अधिकारी प्राध्यापक क्रिस व्हिटीले भोलिको समयमा स्थिति योभन्दा थप खराब हुनसक्ने र यसले रेकर्ड नै तोड्न सक्ने चेतावनी दिएका थिए ।

उनले क्रिसमसको सन्दर्भमा मानिसहरुलाई सामाजिक दुरीको विषयमा सतर्क रहन पनि भनेका छन् । मानिसहरुले आफ्नो प्राथमिकता छान्नुपर्ने उनले बताएका छन् । प्राध्यापक व्हिटीसँगै यो पत्रकार सम्मेलनमा उपस्थित प्रधानमन्त्री बोरिस जोनसनले सबैले बुस्टर डोज लगाउन असाध्यै आवश्यक भएको बताए ।

उनले केही इलाकामा दुई दिनभन्दा पनि कम समयमा संक्रमितको संख्यामा दोब्बरको वृद्धि भइरहेको चेतावनी दिए । उनले अस्पतालमा बेडको स्थितिको विषयमा पनि चिन्ता जताएका छन् ।

प्राध्यापक व्हिटीले देशले दुई भिन्न भिन्न महामारीको सामना गरिरहेको बताए । उनले भने, ‘एउटा तीब्र रुपमा फैलिरहेको ओमिक्रोन भेरियन्ट र दोस्रो डेल्टा भेरियन्ट ।’उनले थपे, ‘मलाई डर लागिरहेको छ तर हामी वास्तविकतालाई नकार्न सक्दैनौं । अबका केही हप्तामा रेकर्ड तोडिन सक्छ किनभने संक्रमणको दर बढ्दै गइरहेको छ ।