काठमाडौं । चिसो बढेसँगै मनाङका भेडापालक जाडो छल्न बेँसी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेँसीतर्फ झार्न थालिएको हो ।
यहाँका चामे र नासो गाउँपालिका भेडापालक चरनका लागि चिसो बढेसँगै थानचोक ताल हुँदै लमजुङको घनपोखरा र घलेगाउँ पुर्याउने गर्दछन् ।
बर्खायममा चार हजार मिटरभन्दा अग्लो पाटनमा भेडा चराउनु यस क्षेत्रका भेडापालकको दिनचर्या भएको र चिसो बढेकाले मङ्सिरमै बेँसीतिर झर्न थालेका हुन् । नासो गाउँपालिकाका भेडापालक यादव घलेले आफ्ना डेढसय भेडा लिएर जाडो छल्न बेँसी झरेको बताए । भेडा चराउने गरेको हिमाली पाटनमा चिसो बढ्न थालेपछि सँगै गएका अन्य भेडापालक झरेको उनको भनाइ थियो ।
घलेसँगै भेडापालक किसानलगायतले छ महिना नाम्के, ड्रोना र लमजुङ हिमालको बेसक्याम्पमा बिताएको वीरबहादुर गुरुङले बताए । उनीहरू एक हजार ५०० भन्दा बढी भेडाबाख्रा लिएर जेठको पहिलो साता भेडा चराउन पाटनतिर गएका थिए ।
वर्षौँदेखि पाटनमा भेडा चराउने गर्दै आउनुभएका उहाँहरूले यस वर्ष चिसो निकै बढेको बताए। चिसो बढेसँगै भेडा मर्न थालेपछि यसपालि छिट्टै भेडालाई बेँसी झारिएको हो ।
चिसो बढेसँगै भेडाले बेँुसीतिर झर्ने सङ्केत गर्ने गरेको अर्का भेडापालक अजय गुरुङले बताए । उनले भने “गर्र्मी बढेपछि बेँसीबाट लेकतिर जान खोज्छन् भने लेकमा जाडो बढेपछि बेँसीतर्फ झर्छन् । उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने भेडाले धेरै चिसो पनि सहँदैनन् र बढी गर्मी पनि मन पराउँदैनन् । सोहीअनुसार हामीले पनि गोठ सार्ने गर्नुपर्छ ।”