कति खतरनाक छ, ओमिक्रोन ?

everest kitchen

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखापरेको छ । दक्षिण अफ्रिकी मुलुबाट फैलिएको कोरोनाको यो नयाँ भेरियन्ट नेपालमा दोस्रोपटक देखिएको हो । यसअघि दुई जनामा ओमिक्रोन संक्रमित भेटिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगीता मिश्राले ५८ वर्षीय एक जना वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताइन् । उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्य मन्त्रालयको नियमित सम्पर्कमा रहेर उनको उपचार भइरहेको उनले बताइन् ।

प्रवक्ता मिश्राका अनुसार २२ जनामा डेल्टा भेरियन्ट पुष्टि छ । हालसम्म ५५ लाख बढी नमुना परीक्षण भइसकेको छ भने ९ लाख २२ हजार ४ सय ३३ जना संक्रमित भएका छन् ।

कति खतरनाक छ ?

पछिल्लो समय क्रमिक रूपमा कम हुँदै गएको संक्रमित दर नयाँ भेरिएन्ट भित्रिए अवस्था जटिल हुन सक्ने देखिन्छ । वैज्ञानिकहरूले ओमिक्रोन पहिलेका भेरियन्टभन्दा खतरनाक नभएको बताइरहेका छन् । यद्यपि, सो भेरियन्ट लागेर अमेरिकामा एक जनाको मृत्यु भइसकेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार मृत्यु हुने व्यक्तिले कोरोनाको कुनै पनि खोप नलिएको पाइएको उल्लेख गरेका छन् ।

अहिलेसम्मका डाटा हेर्दा ओमिक्रोन निकै संक्रामक भए पनि यो डेल्टा वा अरू भेरियन्टभन्दा खतरनाक नदेखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का आपतकालीन परिस्थिति निर्देशक माइकल र्या
नले जानकारी दिएका छन् ।

अमेरिकी सरकारका मेडिकल सल्लाहकार डा. एन्थोनी फाउचीले ओमिक्रोन बढी संक्रामक भए पनि यसले डेल्टाले जस्तो बिरामीलाई बढी सिकिस्त नबनाउने बताएका छन् । यद्यपि डा. फाउजीले सो भेरियन्टको विषयमा विस्तृत अध्ययन हुनुपर्ने र संसारभरबाट डाटा संकलन गर्नुपर्ने अमेरिकी सञ्चार एजेन्सीलाई बताएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।