लघुकथा- विमानघाट
रुद्र ज्ञवाली
नाम अज्ञात । उमेर अन्दाजी सत्तरी वर्ष । शिरमा ढाका टोपी । दौरा सुरुवालमाथि पुरानो कालो कोट । खुट्टामा गोल्डस्टार कम्पनीको तने जुत्ता । उजाड, उदास र निरास चेहरा ।
घरीघरी आकास नियाल्छन् । शिरमाथिको आकाशबाट चुहिएका केही थाना तारा टिलपिल गरेर रोइरहेका छन्, उनका आँखाजस्तै ।
रुन त धक फुकाएरै रुने मन थियो होला उनको । हुनसक्छ लोकलाजले त्यसो गर्न दिएन । आड लागेको यामानको पिलरतर्फ फर्केर ओसिला गह पुच्छन् ।
केही समय अघि घाँटीमा केही थान सयपत्रीका माला र खादा सहितको अनुहारलाई बिमानघाटको ए टु गेटमा बिदा गरेपछि अरूसँगै उनी पनि त्यो स्थानमा आइपुगेका हुन् ।
उनको अनुहार पढ्दा र परिवेश देख्दा लाग्छ, विमानघाट भन्नु पनि सपनाहरूको मसानघाट हो । जहाँ सपनाहरूको बिदाई गरिन्छ । हो उनले पनि त केही समय अघि मात्रै आफ्ना रङ्गीन सपनाहरुलाई यसै बिमानघाटबाट बिदा गरेका हुन ।
घाट प्रवेशका लागि लाम लागेका चेहराहरूको लर्को उनी नजिक आइपुगेको छ । लर्को यति लामो छ कि देख्दा लाग्छ सिङ्गो देश नै अहिले घाट कुरिरहेको छ ।
अलि पर चर्को रुवावासी सुनिन्छ । चिल्लो काठको बन्द बाकसमा केही थान मृत सपनाहरू फिर्ता गरिएका रहेछन् । पुनः उनको चेहरा पढ्छु । कतिबेला आगाको भुङ्ग्रोमा परेको प्लाष्टिक जस्तै र कतिबेला आफै आड लागेको पिलर जस्तै ।
सोंच्छु, मसानघाटजस्तै धुवाँ नै धुवाँले भरिएको छ यो बिमानघाट पनि । फरक यत्ति हो, आर्यघाटमा पुत्ताएको धुवाँ देख्न सकिन्छ । तर यो घाटमा पुत्ताइरहेका मनको धुवाँ न देख्न सकिन्छ न मन जलेको नमिठो गन्ध सुँध्न नै ।