लघुकथा – उपहार
उमेश कार्की
पाँच वर्ष पछि बिदेशबाट फर्किएको सन्तनारायण सुत्ने बेलामा श्रीमतीलाई आइ फोन बाह्र दिदै भन्यो ” बिशेषत: यो तिम्रो लागि उपहार पृयतमा !”
खुशिले,त्यो भन्दा बढी आश्चर्यले आँखा ठुला पारेर उसले भनि” यत्रो! महँगो?यस्को के काम हामीलाई ?”
” फोटो,भिडियो राम्रो आउँछ।फेरि अरुको अगाडि छुट्टै सान पनि त हुन्छ नि!खै कुरो बुझेकी?”
“ह्याँ.. यो किन्नु भन्दा त बरु लैनो भैंसी किन्नु धेरै फाइदा।” उसले ओठ लोप्र्याई। “गोबर सोहोर्दा सोहोर्दै दिमागमा नि गोबर नै भरिएछ यिनको।”
माया होकि दया हो उस्ले बुझिन तर लोग्नेको घमण्ड चाहिँ प्रष्ट बुझी । उस्ले विवाद गर्न चाहिन। तर उस्को मनले भनिरहेको थियो -” मुखमा मोहि छैन, खै के जातिलाई घ्यू!” ऊ मुसुक्क हाँसी।