प्रहरीकै बाइक लिएर कैदी फरार भएपछि जेलर र सुरक्षा प्रमुख जिल्ला तानिए, तीन जना नियन्त्रणमा

everest kitchen

 

दाङ । दाङको घोराही कारागारबाट उपचारको लागि निकालिएका कैदी भागेपछि कारागारका प्रमुख (जेलर) र सुरक्षार्थ खटाएका सबै प्रहरी जिल्ला तानिएका छन् ।

कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका यामराज परियारलाई उपचारका लागि भन्दै जेलबाट निकालिएको र मिलेमतोमा भागेको अनुसन्धानमा जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुख, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेनठकुरीसहित सबै प्रहरी जिल्ला तानिएका हुन् ।

कैदी परियारलाई छालाको उपचार गर्न भन्दै प्रहरी जवान धनबहादुर चौधरीले गत बुधबार दिउँसो लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा लिएर गएका थिए । तर, उनीहरू अस्पताल नगई होटलमा पुगेको र त्यहीँबाट भागेको पाइएको बताएको छ ।

अनुसन्धानका लागि घटनामा संलग्न भएका प्रहरी जवानसहित कारागारका कार्यालय सहयोगी, दुई महिला र होटल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भाग्न प्रयोग भएको प्रहरीको मोटरसाइकल लमही ६ स्थित जंगलमा बिहीबार फेला परेको थियो । जेलका कैदी नाईकेसमेत रहेका परियार भाग्दा ती जवानलाई होटलको कोठामा थुनेर भागेको बताएको छ ।