लघुकथा – बृद्ध स्मृति
इन्द्रराज पौड्याल
जाडो छ। पुषको महिना। ७२ बसन्त पार गरिसकेको शरिर त्यसमा श्वास प्रश्वासको समस्या।दैनिकि चलाउन त्यति सहज छैन। श्रीमति छोरा बुहारी नाती नातिना छन् तर पनि परिस्थितिले एक्लै बसाएको छ।
प्रत्येक दिन पहिलो पटक घरबाट बाहिर निस्कने भनेको आधा लिटर दुध किन्न हो।आज पनि पहिलो पटकनै निस्क्यो। ग्याँस चुलो बिरलै प्रयोग गर्छ। राइस कुकर,इण्डक्सन चुलो र रोटी मेकर सबै बिद्युतीय उपकरण।
एक ग्लास तातो पनी खाएपछि एक कप चिया खाने उस्को नित्य कर्म भित्र पर्छ।आज पनि किनेर ल्याएको दुधबाट १ कप चियाको लागि छुट्यायो अनि बांकि तताउन बसाल्यो इण्डक्सनमा। चिया पत्ति राख्यो चिनी राख्यो।
बिर्सेछ कुन चियाको लागि छुट्याएको दुध भन्ने। चिया पाक्यो।कपमा चिया राख्दा त कप भरिन्छ तर चिया पकाएको भांडोमा चिया अझै ३ कप जति बांकि। अनि आंफैलाई भन्यो- मेरो उमेर संगै स्मृती पनि बृद्ध भएछ ।