प्रज्ञाप्रतिष्ठानको डबलीमा रुकुमको मयुर (गरुवा) नाँचको आकर्षण (भिडीयोसहित)

everest kitchen

विपेन उलङगे
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन काठमाडौंमा चलिरहेको छ । पुस ११ गतेदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा चलिरहेको माओवादी महाधिवेशनमा रुकुमको मयुर (गरुवा) नाँचले चर्चा पाएको छ ।

माओवादी नेता तथा वर्तमान अर्थमन्त्री जनार्दन शर्मा “प्रभाकर” को पहल र महाधिवेशन आयोजक समितिको आमन्त्रणमा काठमाडौंमा पुगेको रुकुम (पश्चिम) त्रिवेणी गाउँपालिकाको गरुवा नाँचले देशभरिबाट आएका माओवादी प्रतिनिधिहरुलाई मनोरञ्जन दिनुको साथै मिडियाको क्यामेरामा आफुलाई कैद गर्न आकर्षण गरेको देख्न सकिन्छ ।

महाधिवेशन उद्घाटन सत्रदेखि नै स्टेज पाईरहेको उक्त झाँकीले सोमबार बन्दसत्रको दिनपनि प्रज्ञा प्ररिसरमा आफ्नो प्रस्तुतिहरु राखि रहेको थियो । करिब एक दर्जन स्थानीय किशोरी कलाकारहरु र त्यतिनै मात्रामा पुरुष कलाकारहरुको समुह मिलाएर सामुहिक प्रस्तुति दिईरहेका कलाकारको टिमले काठमाडौंमा आएर प्रस्तुति दिन पाउदा खुसी लागेको बताए ।

मयुरको प्वाँखलाई कलात्मक तरिकाले बुनेर गरुवा निर्माण गरिने र उक्त गरुवासहित महिलाहरुले चोली, धोती, धहरो, कलात्मक लाठी, फेटा लगायतको पहिरणमा सजिने र पुरुष कलाकारहरुले पनि सेतो सर्ट, स्टाकोट, ढाँकाटोपी, धहरो, जुत्ता लगायतका पहिरणमा सजिएर सामुहिक रुपमा बाजाको तालमा नाँचिने हुदा नृत्य आकर्षक देखिन्छ ।

स्थानीय “कला साहित्य संरक्षण मञ्च त्रिवेणी”को नेतृत्वमा काठमाडौं आएको उक्त गरुवा नाँच टिमको सजावट संग फोटो खिच्नेहरुको भिड थियोे भने उनीहरूको प्रस्तुतिमा धेरैले रमाएका थिए ।

रुकुमको सेरोफेरोमा पुरानो परम्परागत नाँच भएपनि काठमाडौं लगायतका अन्य जिल्लाका मानिसहरुलाई भने यो नाँच नौलो लागेको प्रतिक्रिया धेरैले दिएका थिए ।

साथै उक्त गरुवा नाँच टिमसंग अर्थमन्त्री जनार्दन शर्माले अनौपचारिक अन्तरक्रिया तथा समिक्षा समेत गरेका छन् । सोमबार साँझ प्रज्ञा भवनमा गरिएको उक्त समिक्षा कार्यक्रममा कलाकारहरुले आर्थिक रुपान्तरणसंगै सांस्कृतिक रुपान्तरणको लागि मौलिक कलाको संरक्षण तथा प्रबर्द्धन गर्न माग गरेका थिए ।

सो अवसरमा अर्थमन्त्री शर्माले आफुले कला संस्कृतिको विकास र संरक्षण गर्दै सांस्कृतिक तथा आर्थिक विकासको पक्षमा लागेको बताए । साथै, उनले कलाकारहरुलाई चन्द्रागिरी लगायतका स्थानहरुको भ्रमण प्रबन्ध तथा घरसम्म पुग्ने यातायातको प्रबन्धसमेत गरिदिने बाचा गरेका थिए ।