लघुकथा – युगको अप्रिय हार
सरण राई
जनमत बुझ्न क्रिएटिभ संस्थाले एउटा अचम्मकाे कार्यक्रमकाे आयाेजना गर्याे । सबैभन्दा बढि श्रध्दा र सम्मान गरिने एउटा जिउँदाे मानिसकाे तस्वीरमा फूल चढाउने र सबैभन्दा बढि घृणा गरेकाे एउटा जिउँदाे मानिसकाे तस्वीरमा थुक्ने ।
याे नयाँ प्रकारकाे कार्यक्रममा हजाराैं सर्वसाधारण आम मान्छेहरूले स्वस्फूर्त रूपमा सहभागिता जनाए ।
नाम चलेका सयाैं मानिसहरूकाे तस्वीर गाेप्य स्थानमा राखिएकाे थियाे । पालैपालाे त्यहाँ गएर फूल राख्ने र थुक्ने कार्य गर्नु पर्थ्यो । त्यो काम सम्पन्न भयो । सर्वसाधारण आम मान्छेहरू त्यहाँ गएर थुकेर त आउथे तर फूल भने कसैकाे तस्वीरमा नराखि फर्काएर मैला ढ्वाङमा फाल्थे ।
अन्तमा ‘काे सबैभन्दा घृणित रहेछ ?’ भ न्ने परिणाम बुझ्न तस्वीरहरू हेरियाे । दुई वटा तस्वीरमा यति धैरै थुकिएकाे थियाे कि ती तस्वीरहरू चिन्नै नसकिने गरि धुजा धुजा भएका थिए । तसर्थ सबैभन्दा घृणित जिवीत मानिसकाे पहिचान हुन सकेन ।
सबैभन्दा बढि लज्जाकाे विषय — श्रध्दा र सम्मान गरिने एउटा जिउँदाे मानिस जसकाे तस्वीरमा हजाराैं सर्वसाधारण आम मान्छेहरू फूल चढाउन सक्थे, एउटै त्यस्तो जिउँदाे मानिस नहुनु–वर्तमान युगकै अप्रिय हार देखियाे !