काठमाडौं। काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ स्थित गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयबाट प्रहरले १६ जना बिचौलियालाई पक्राउ गरेको छ ।
यातायात कार्यालयको मोटरसाइकल शाखामा आउने सेवाग्राहीलाई ‘छिटो काम गर्दिन्छौं’ भनेर अनावश्यक हैरानी दिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका घर भएका सुविन लामा, सौरभ श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन, हरिकृष्ण पहरी, धनकुटा घर भएका राकु तामाङ, अछामका एकेन्द्र बुढा, ओखलढुंगाका वीरेन्द्र कटुवाल र तनहुँ घर भएका सुशान्त राजभण्डारी छन् ।
त्यस्तै मकवानपुर घर भएका विशाल लामा, रोल्पाका जीवन मगर, झापाका बिशाल मेचे, ओखलढुंगाका विवेक न्यौपाने, ललितपुरका रुद्रबहादुर महत र सिन्धुपाल्चोकका छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
सेवा लिन आएका सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षको टोलीले उनीहरुलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटमा पठाएको छ । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।