देउवासँग कुराकानी राम्रो भयो- ओली

everest kitchen

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग राम्रो कुराकानी भएको प्रतिक्रिया दिएका छन् । एमालेले संसद निरन्तर अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका ओलीलाई भेटन शनिबार बिहान उनकै निवास बालकोट पुगेका थिए ।

करिब एक घण्टा भेटवार्ता भएपछि प्रधानमन्त्री देउवालाई बिदाइ गर्न निस्केका अध्यक्ष ओलीले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कुराकानी राम्रो भएको बताए। उनले भने, ‘उहाँसँग कुराकानी भयो, सद्धियो नि त। कुराकानी राम्रो भयो दुई जनाबीच।’

एमालेले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको, पार्टीले निस्कासन गरेका सांसदहरुलाई सांसद पद नरहेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले नटाँसेकोमा आपत्ति जनाउँदै संसद बैठक निरन्तर अवरुद्ध पार्दै आएको छ ।

सोही विषयलाई लिएर एमालेले सर्वदलीय बैठक समेत बहिष्कार गर्दै आएपछि सत्तारुढ दलको शुक्रबार बसेको बैठकले ओलीलाई मनाउने जिम्मा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई दिएको थियो ।