सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति

everest kitchen

एजेन्सी। आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति एक ५७ वर्षीय अमेरिकी पुरुष भएका छन् ।

चिकित्सकहरूका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ ।

यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने अझै स्पष्ट छैन ।

मान्छेमा जनावरका अंगहरू प्रत्यारोपण गर्न थालिएको धेरै पहिलादेखि हो। जनावरका अंग मानवमा प्रत्यारोपण गर्नुलाई जेनोट्रान्सप्लान्टेसन भनिन्छ।

सन् १९६० को दशकमा केही मानिसहरूमा चिम्पान्जीका किड्नी प्रत्यारोपण गरिएका थिए। चिम्पान्जीको किड्नी राखेका एकजना मान्छे नौ महिनासम्म बाँचेको थिए। अरू त्यो भन्दा कम समयमै बितेका थिए।