मेची स्तम्भको ठाउँमा पृथ्वीनारायण शाहको शालिक राखिएको भन्दै विरोध

everest kitchen

झापा। मेची स्तम्भको स्थानमा पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक राखिएको भन्दै नेपाल आदिवासी जनजाति मञ्च कचनकवलले विरोध गरेको छ।

कचनकवल गाउँपालिका–५ पाठमारीस्थित नयाँ हाटमा मंगलबार ३०० औं पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा कचनकवल गाउँपालिका र वडा कार्यालयले पृथ्वीनारायण शाह पूर्ण कदको शालिक अनावरण गरेको भन्दै नेपाल आदिवासी जनजाति मञ्चका कार्यकारी अध्यक्ष फूलचन्द्र गणेशले बुधबार विज्ञप्ति निकाल्दै विरोध गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘कचनकवल-५ नम्बर वडा कार्यालयले मेची स्तम्भ उद्घाटन कार्यक्रमको नाममा सुनियोजित ढङ्गले पृथ्वीनारायण शाहको शालिक अनावरण गरेकोमा मञ्चको गम्भीर ध्यानाकर्षण भएको छ।’

सङ्घीय लोकतन्त्र, गणतन्त्र नेपालको संविधानको मर्म र भावना विपरीत स्थानीय सरकारको यो कदमले समग्र आदिवासी जनजातिको पहिचानमाथि प्रहार भएको उनीहरूको दाबी छ।