लघु कथा : आश र त्रास
एलपी पराजुली
आज अचानक उ दक्षिण पन्थी भनेर चिनिने दलको झण्डा बोकेर जुलुसको अग्रपंक्तिमा जोसका साथ हिंडिरहेको देखेर म छक्क परें । एकछिन त मलाई विस्वास नै लागेन । अरु नै कोहि हो कि भनेर नियालेर हेरें, उहि रहेछ । उसले किन क्रान्तिकारी दल छोडेर दक्षिणपन्थीमा लाग्यो होला ? मेरो मनमा खुल्दुली बढ्दै गएकोले उसलाई भेटेर सोधि हाल्न मन लाग्यो ।
सभास्थल सम्म पछ्याएर निकै बेरको पर्खाई पछि मैंले उसलाई भेट्न सफल भएँ । उसले मलाई देख्ना साथ अभिवादनको लागि मुठ्ठी कस्दै हात उचाल्ला भनेको त फिस्स हाँस्दै नमस्कार पो गर्यो । उसको बदलिएको चाला देखेर म छक्क पर्दै थिएँ उ बोलिहाल्यो “ए कमरेड लौ तपाईं पनि अब यतै आउनुस् त्यता बसेर केही हुनेवाला छैन । अब जे हुन्छ यतै हुन्छ ।”
उसको कुरा सुनेर म छक्क पर्दै पुरानो कुरा सम्झिन थालें । संविधान सभाको चुनाव ताका क्रान्तिकारी दलको प्रचार गर्न कम्मर कसेर लागेको ज्वालासिंह क्षेत्री साँच्चैको आगोको ज्वाला जत्तिकै उग्र स्वभावको थियो । पुरानो सत्ताको पक्षपोषण गर्ने कुनै पनि कुरा उसलाई सह्य हुदैनथ्यो । कसैले त्यस्तो कुरा गर्यो भने पनि उ तुरुन्तै प्रतिकार गर्थ्यो ।
कतिलाई उ हप्काउँथ्यो, कतिलाई धम्क्याउथ्यो भने कतिपयलाई त भौतिक आक्रमण समेत गर्न पछि पर्दैनथ्यो । उसको त्यो रुप देखेर टोलका सबै डराउँथे । एकदिन उसले मलाई पनि जबर्जस्तीकै शैलीमा क्रान्तिकारी दलको समर्थक बन्न बाध्य बनाएर ठुलै आर्थिक सहयोग समेत कुम्ल्याएको थियो । त्यसपछी म टोलभरी नै क्रान्तिकारी दल र उसैको खास मान्छे भनेर चिनिंदै आएको थिएँ ।
म पुरानो कुरा झल्झली सम्झँदै थिएँ उ चाहिँ लट्टे पड्के जत्तिकै लगातार मेरो अगाडि पड्किरहेको थियो ” मरेको बाख्रालाई सबै उपियाले छोडछन् बुझ्नु भो ? अब उताको मान्छे भनेर न कोहि डराउँछन् न त कोहि आशावादी भएर नै केही दिन्छन् अनि केही आस पनि नभएको त्रास पनि नभएको ठाउँमा बसेर के फाइदा ? यता त अहिले आश पनि छ त्रास पनि छ । बेलैमा यता लागेर बुद्धि पुर्याउनु पर्छ बुझ्नु भो ?”