एजेन्स। तेलुगू र तमिल फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यले डिभोर्सको घोषणा गरेका थिए ।उनीहरूले विवाहको ४ वर्षपछि सम्बन्धविच्छेदको घोषणा गरेपछि घोषणाले दक्षिण भारतीय फिल्म उद्योगमा हलचल भएको थियो ।
दक्षिण भारतीय फिल्म उद्योगका लोकप्रिय जोडी अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यले सन् २०२१ अक्टोबर २ मा अलग हुने घोषणा गर्दै एक नोट सार्वजनिक गरेका थिए ।
यद्यपि सामन्थाले भने हालैका दिनमा आफ्नो सामाजिक सञ्जालबाट अलग्गिएको पोस्ट हटाएकी छन् । उनले पोस्ट हटाउनासाथ कतै उनीहरु फेरि मिल्न त लागेका होइनन् भन्ने अड्कलबाजी गरिएको छ । फ्यानहरुले जोडी आफ्नो मतभेदलाई भुलेर पुनः नयाँ जीवन सुरु गर्न लागेको अनुमान लगाएका छन् ।
सामन्था र नागाको पहिलो भेट सन् २००९मा रिलिज भएको फिल्म ‘ये माया चेसावे’को सेटमा भएको थियो। त्योबेलादेखि नै उनीहरूको सम्बन्ध राम्रो थियो र दर्शकहरूले पनि यो जोडीलाई मन पराएका थिए।
उनीहरूबीच राम्रो बुझाइ भए पनि उनीहरू सम्बन्धमा भने बसेनन्। त्यो समय नागा अभिनेत्री श्रुती हसनसँग प्रेम सम्बन्धमा थिए। सामन्था पनि सिद्धार्थकी प्रेमिका थिइन्।
तर सन् २०१३ तिर नागा र श्रुतीको ब्रेकअप भयो, सामन्था र सिद्धार्थ पनि एकअर्काबाट टाढा भए। ब्रेकअपपछि सामन्था र नागा केहीसमय एकअर्कासँग प्रेम सम्बन्धमा रहे। उनीहरूले सन् २०१७ मा वैवाहिक सम्बन्ध गाँसेका थिए।