गणेश सिर्पाली
– अघिल्लो चैत अन्त्यतिर कोरोना बेस्सरी बढेको थियो । यस्तैमा गाउँका साथीहरू मिलेर नब बर्षमा रमाइलो गर्ने योजना बन्यो । साथीको कोठामा गएर माछाको बङ्गाराको हार खाएर २ हातो कलब्रेक खेलेको मलाई कोरोनाले समाती सकेछ । (१.यसरी भोज र मोज तिर नलागौँ)
– भोलिपल्टै बाट बेस्सरी ज्वरो आयो । घाँटी बेस्सरी दुख्न थाल्यो । मलाई लाग्यो रुघाखोकी हो । मेडिकल जाने एन्टिबायोटिक ल्याएर खाने गरियो । (२.कोरोनाले कमजोर बनाएको शरीरलाई एन्टिबायोटिकहरुले झन कमजोर बनाउने रहेछन्, यस्तो नगरौं ।)
– चार दिन पछि खानाको स्वाँद हरायो । मुखमा खाना राखेको हो कि गोबर पत्तो लाग्न छाड्यो । त्यसपछि बल्ल कोरोना परीक्षण गर्ने होस खुल्यो । (३.बेलैमा परिक्षण गरौं ।)
– शुकराज ट्रपिकल गएर स्वाब दिएर आएदेखि पनि परिबारका सदस्य सँग दुरी कायम गरिएन । यसै अनुमान गरियो कि छैन भए सबैलाई सर्यो होला । (४.यस्तो अनुमान नगरौं, सक्नेजती दुरी कायम गरौं ।)
– राती निद्रा परेको थिएन । मोबाईलमा म्यासेज आयो । कोरोना पोजिटिभ भएछ । रिपोर्ट खोलेर हेरेँ । टाँस्सिएर सुतेकी दुई बर्षकि छोरीको अनुहार हेरेँ, सेतै फुलेकी आमाको अनुहार सम्झेँ । रिण सम्झेँ, उमेर सम्जिएँ, आफ्ना अधुरा सपनाहरू सम्झिएँ । मरिन्छ होला झैं लाग्यो । (५.आत्मबल बढाऔँ, सामान्यीकरण गरौं ।)
– ज्यान थलिदै गएको थियो । छिट्टै लकडाउन हुनेवाला थियो । मरेपनि घरमै मर्ने भन्ने निष्कर्श भयो । भोलिपल्ट नै घर हिडियो बाइकमा । काठमाडौँ-रुकुम । यति लामो दुरी, कोरोनाले ध्वस्त पारेको शरीर, तीन दिन देखिको भोको पेट….कयौं ठाउँमा ढल्छु झैँ हुन्थ्यो । (६.यस्तो जोखिम नमोलौँ, जहाँ छौँ त्यही सुरक्षित बनौं)
– बाङ्गेलाखुरी पुग्दै गर्दा ठूलो पानी पर्यो । साँझ पर्नै लागेको, सानो बच्चा साथमा भएकोले ओत लाग्न उपयुक्त ठानिएन । झण्डै एक घण्टा भिजियो । आङका कपडा आङमै भिजेर सुके । (७.कोरोना भएकाहरु चिसोबाट बचौँ ।)
– अबेर गाउँ पुगियो । घरमा बस्ने कुरा भएन । आफ्नो गोठ उपयुक्त थिएन । छिमेकीको गोठमा गएर बसियो । (८.मर्दा पर्दा चाहिने छिमेकी कहिल्यै नभुलौँ ।)
– त्यो रात मीठो निद्रा लाग्यो । सायद थकानले होला । गोठको भुईतला मेरो आईसुलेसन रुम बन्यो, बन्द गर्न नमिल्ने झ्याल भेन्टीलेसन । रातभर मुसाले तर्साईरहन्थे । मुसा लखेट्दै आएको सर्पले छोरीका फुलजस्ता हात चुमिदेला कि भन्ने चिन्ता त हुने नै भयो । (९.होम आईसोलेसनको उपयुक्त ब्यबस्थापन गरौँ ।)
– भोलिपल्ट गाउँका प्रेम बिष्ट अंकलको कोरोनाको उपचारकै क्रममा काठमाडौँमा निधन भएको खबर आयो । अर्कोदिन ठुलोबुवा कोरोनाले जिल्ला अस्पतालमा बित्नु भो । उहाँलाई आर्मीले सेलायो । दाईहरुले टाढैबाट काठ फालेर मलाम गर्नुभो । अरुले छुन नमिल्ने भएकोले मैले कपाल सम्म फाल्न पाँईन । अस्पतालमा हामी जस्ताले बेड पाउने स्थिति थिएन । अरु उपाय थिएन । कतिबेला त लाग्थ्यो म मृत्युको लाईनमा छु । (१०.आत्मबल उच्च बनाऔँ, त्यस्ता समाचार नहेरौँ/नसुनौँ ।)
– आमाले भए भरका झारपात ल्याएर दिनुहुन्थ्यो । अरु खान नसकिने भएकोले झारपातको रस खुब खाइयो । तर गुर्जोको अत्याधिक सेवनले प्रेसर लो बनाउँदो रहेछ । (११. घरेलु औषधीको सेवन पनि उपयुक्त मात्रामा गरौँ ।)
– स्वास्थ्य लाभको कामना गर्ने, टाढै बाट एक प्याकेट चाउचाउ फालिदिएर भएनि भेट्न आउनेहरुका नाम मुटुमा लेखेको छु । उल्टो मुन्टो लगाएर देख्यो कि भाग्ने छिमेकी पनि हुन्छन् । उनीहरुलाई पनि गलत ठानेको छैन । (१२.अरुबाट आस नगरौं तर आफुले सक्ने सहयोग गरौँ ।)
– दिदी प्याङमा कुखुराको झोल बोकेर आईपुग्दा सोचेको थिएँ-दिदी सुत्केरी हुँदा मैले यस्तै झोल बोकेर भेट्न पुगेकी पुगिँन ? (१३.आफुमा पर्दा मात्र समस्या ठान्नु गलत हो, यस्तो नगरौँ ।)
– केही दिनमा बिशेक भएर घर गयौँ । घरको दैलो नाघ्ने बेला आँखा रसाए । लागेथ्यो- युद्ध जितेर, मृत्यु जितेर आईयो । (१४.घर भौतिक संरचना मात्र होईन, यो त नाबीभुमी हो, उर्जाभुमी हो ।)
(गणेश सिर्पाली प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको वरिष्ठ उपाध्यक्ष हुन )