नक्कली परिक्षार्थी, बिचौलिया एवं परीक्षामा अमर्यादित कार्य गर्ने व्यक्तिहरू पक्राउ

everest kitchen

काठमाडौं। चिकित्सा शिक्षा आयोगद्वारा संचालित एमडि/एमएस प्रवेश परीक्षामा नक्कली परिक्षार्थी बनी परीक्षा दिने, उक्त परीक्षामा बिचौलियाको रुपमा नक्कली परिक्षार्थीलाई सहयोग गर्ने एवं परीक्षामा अमर्यादित कार्य गरेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश गोण्डा ठेगाना भएका ३० वर्षीय जितेन्द्र कुमार मिश्रा, भारत बिहार सिक्टा ठेगाना भएका ३४ वर्षीय शशि भूषण सिंह र भारत बिहार खगरिया ठेगाना भएका ३२ वर्षीय कृष्ण मुरारी रहेका छन् ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले नक्कली परिक्षार्थी जितेन्द्र र बिचौलियाको रुपमा नक्कली परिक्षर्थीलाई सहयोग गर्ने शशि भुषणलाई काठमाडौं महानगरपालिका-८ एलआरआई स्कुल कलंकीबाट र परिक्षामा अमर्यादित कार्य गर्ने कृष्ण मुरारीलाई नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान सानोभर्‍याङ काठमाडौंबाट पक्राउ गरेको हो ।

उनीहरूउपर शिक्षा ऐन, २०२८ बमोजिम थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।