लघुकथा – बुढापा
सुमित्रा न्याैपाने
मुजा परेका अनुहार मुसार्न खाेज्याे , हातमा छाला मात्र आउँछ । आँखा पनि धमिला भैसके ।फुलेका दारीले बिझाइरहन्छ , चिलाइरहन्छ । काटन सक्दिँन । उठ्यो जिउ थरथर काँप्छ । बाथरुम जाँदा लडिने हो कि भनेर डर लागिरहन्छ । खाना दाँतले होइन गिँजाले चपाउनु पर्छ । आफ्नो शरीर थेग्न नसक्ने भएपछि सबै कुरा बाेझ लाग्दाेरहेछ ।
काम अरुले गरिदिऊन् जस्तो लाग्दै पनि लाग्दैन । आफैंले गर्न चाहिँ सक्दिन । त्यसैले पनि म निकै फाेहारी भएको छु । नातिनातिनी नजिक पर्न छाडिसके । माया भने गरिरहन्छन् साथै कचकच पनि गरिरहन्छन् । जे हाेस् घर परिवारले माया गरेकै छन् । छाेराले त औधिँ माया गर्छ । मेरो जस्तो परिवार सबैलाई मिलाेस् भनेर भगवानसँग बिन्ती गरिरहन्छु ।
आज किन किन विस्तारामा सुतेको निद्रा परेन । टहलाउनका लागि काेठाबाट बाहिर निस्कें । सुतेका कसैलाई डिस्टर्व नगरुँ भन्ने साेंचेर बिस्तारै बाहिर निस्कन खाेजें । बत्ती कतै बलेको थिएन तर छाेराकाे काेठाबाट मधुरो आवाज बाहिर आएको थियोे ।
“बुबा निकै फाेहाेरी हुनुभयो । घर गन्हाउने भैसक्याे । पिसाब फेर्न चर्पी जानुहुन्न । भित्ताे समाउँदै घर पछाडि जानुहुन्छ । झ्यालबाट गन्ध भित्र आइरहन्छ । बिस्तारा गन्हाएर हैरान छ । तन्ना त आफै फेर्न सकिहाल्नुहुन्छ नि । कपडा भिखारीका जस्ता भैसके । फेर्नै मान्नुहुन्न । देख्नेले पनि के भनेका हाेलान् ? बुढालाई कति दु:ख दिएका ? भन्ने भए । म त हैरान भैसकें ।” बुहारीले गुनासाे पाेखेको सुनें ।
भित्ता समातेर ढाेका नजिक पुग्दै थिएँ “कति पाे बाँच्लान् र बुढा अब । सबै शरीर शिथिल भैसकेकाे छ । दु:ख सुख गर । मरेपछि टन्टै साफ ।” छाेराकाे आवाज कानमा ठाेकियाे । मेरो धरातल भाँसियाे । छाँगाबाट खसें ।