अनलाइन बिङ्गो खेल्ने ७४ जना बौद्धबाट पक्राउ

everest kitchen

काठमाडौं। अनलाइन जुवा खेलाएको आरोप प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश राज मैनालीका अनुसार काठमाडौँको बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टमा जम्मा भएर अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको हो ।

दोलखा घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा कोभिड–१९ महामारीको विषम परिस्थितिमा ठुलो सङ्ख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलिरहेको सूचना प्रहरीले पाएको थियो ।

उनीहरूको साथबाट मोबाइल, बिङ्गो खेलमा प्रयोग हुने कुपन र नगद नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा ६६ जना पुरुष र ८ जना महिला रहेका छन् । उनीहरूको साथबाट प्लास्टिकको बट्टाभित्र रहेको ७० हजारसमेत गरी कूल ६ लाख १८ हजार २५० रुपैयाँ बरामद गरेको उनको भनाइ छ ।

उनीहरूले एउटा बिङ्गो एप डाउनलोड गरेका थिए। त्यसरी डाउनलोड गरेपछि भेला भएका मानिसहरूले हार-जित हुनेगरी पैसा हाल्थे।

खेलाउने प्रमुख व्यक्तिको मोबाइल पनि स्पिकरमा जडान गरिएको थियो। भेला भएका मानिसहरूले कुपन किनेका थिए। त्यसअनुसार नम्बर पर्ने व्यक्तिलाई पुरस्कारको व्यवस्था गरिएको बौद्ध वृत्तले जनाएको छ।