१८ अन्तर्राष्ट्रिय आवर्ड विजेता मलेसियन तामिल फिल्म “परमपथम”को नेपालमा प्रदर्शनको चाहाना

everest kitchen

विपेन उलङगे
काठमाडौं । मलेसियामा निर्माण भएको तामिल चलचित्र “परमपथम” टिमले नेपालमा प्रदर्शनको चासो देखाएको छ । चलचित्र निर्माण टिमले नेपाली चलचित्रकर्मीसंग मिलेर थप नयाँ काम गर्ने र परमपथमलाई नेपालमा पनि प्रदर्शन गर्न चासो राखेको हो ।

पछिल्लो समय भारतीय चलचित्र नगरिमा आफुलाई अब्बल सावित गरेको तामिल फिल्मले विस्तारै तामिल भाषीहरु भएको देशहरुमा पनि सशक्त उपस्थिति देखाउने गरेको छ । त्यस्तैमा सन २०१९ मा मलेसियामा निर्माण भएको चलचित्र “परमपथम”ले पनि राम्रै चर्चा पाएको छ ।

कोभिड-१९ को मार उक्त चलचित्रलाई पनि परेपनि हालसम्म उक्त चलचित्रले १८ वटा अन्तर्राष्ट्रिय आवर्ड जितिसकेको चलचित्र निर्देशक तथा अभिनेता विकनेश पेराबुले हिमाल टाईम्ससंग बताए । उनका अनुसार चलचित्रमा ४ जना युवाहरूले गरेको एउटा प्राचीन गेमबोर्ड काल्पनिक थ्रिल राइडको कथा देखाएको छ।

यो फिल्म हालसम्म मलेसिया, सिंगापुर र श्रीलंकाका थिएटरमा रिलिज भइसकेको छ । विशाल दर्शक र प्रशंसकहरूले हाम्रो फिल्म रुचाएका थिए विकनेशले भने, “जताततै राम्रो सकारात्मक प्रतिक्रियाहरू प्राप्त गरेका छौं, समय परस्थितीले साथ दिए नेपालमा पनि प्रदर्शन गर्ने ईच्छा छ, हामी हाम्रो फिल्म र संस्कृतिलाई त्यहाँ ल्याउन तत्पर छौं।”

साथै उनले नेपाली चलचित्रसंग मिलेर काम गर्ने ईच्छा भएको र कुनै पनि प्रस्ताव आएमा आफुले विचार गर्ने बताए । परमपथमलाई नेपालमा प्रदर्शनको वातावरण मिलाउने सम्बन्धि प्रस्ताव आह्वान समेत उनले गरेका छन् ।

निर्माण टिमका अनुसार, चलचित्रले हालसम्म आईएमडीबीद्धारा मान्यता प्राप्त १८ वटा अन्तर्राष्ट्रिय अवार्ड जिति सकेको छ । परमपथम अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा धेरै अवार्ड जित्ने पहिलो मलेसियाली चलचित्र हो। परमपथम फिल्मलाई विकनेश पेराबु र थानेश पेराबु भाइहरूले निर्देशन गरेका छन् ।

यो चलचित्रलाई डा. लचा पेराबु र डा. चक्रवर्तीले निर्माण गरेका हुन । चलचित्रमा संगीतकार बालनराज र एम. जगादिसको संगीत रहेको छ ।

यो मलेसियाको पहिलो फिल्म हो जुन विश्व च्याम्पियनसिप फिल्म फेस्टिभल टोकियो जापान २०२१ मा प्रवेश गरेको थियो । उक्त चलचित्र आधिकारिक रूपमा गोल्डेन ग्लोब अवार्ड २०२१ मा समेत छनोट भएको थियो । चलचित्रको आईएमडीबी रेटिङ ७.६ रहेको छ ।

मलेसियामा भारतीय मुलका तामिल जातिहरुको बसोबास ठुलो मात्रामा रहेको छ । उनीहरू अधिकांशले हिन्दू धर्म मान्छन् भने शतप्रतिशतले तामिल भाषाको प्रयोग गर्दछन । मलेसियामा पनि बलिउड चलचित्रको राम्रो प्रभाव रहेको छ । त्यस्तै मलेसियामा हालसम्म २० वटा तामिल भाषाका फिल्महरु निर्माण भईसकेका छन् ।