लघुकथा : आफु भलो त जगत भलो
डा. अमर कार्की
सधैझैँ बैकुण्ठले अफिसको ढोकामा ताल्चा मार्यो । थोत्रो एवन साइकल चढेर घरतिर लाग्यो । ड्युटिको लुगा फेरेर चुलो छेउ टुक्रुक्क पिर्कामा बस्यो । यसरी बस्दा उसको दुबै घुँडाहरु सुरुवालबाट बाहिर चिह्याइरहेका थिए । “हेर एकजोर नयाँ सुरुवाल हाल न बुढा भनेको सुन्ने हैन।” श्रीमतीको यो कुरालाई हावामा उडाउदै दुबै हत्केलाले सुरुवालका प्वालहरु थुन्दै भन्यो , “के भो त झन यहाँबाट तातो भित्र जान्छ।” कुरो पनि कति आको माग्ने बुढालाई? लाउ ढिडो मस्काऊ भन्दै बुढीले बुढातिर दाबियो तेर्साइदिई।
तातो तातो ढिडो र सागको गास टिपेर उ तमाखु भर्न थाल्यो।एक क्षणपछि उसको श्रीमती पनि चुलो लोटेर बुढाको नजिक आई । “कस्तो भो त पालेदाइको अफिसको काम आज? ” हरेक दिन ऊ यसरी नै बुढालाई मायालु जिस्क्याइ पोख्थी ।
सधै उही त हो नि “मूल ढोकामा बसेर सुरक्षा दिनु ,आगन्तुकहरुको विवरण राख्नु , माथिल्लो पदका कर्मचारीलाई तन्केर सलाम गर्नु तर हामीलाई पाले भनेर नमस्ते फर्काउने कष्ट भने कसैले गर्ने होइन । पिउन र पालेलाई हाइ हेलो गर्दा इज्जत घट्ला भन्ने डर जो छ , हामी नेपालीमा । ´´ भन्दै ऊ हुक्का तान्न थाल्यो ।
“हैन ,आज के फरक भयो ? के छुट्यो ? ´´ भन्ने भाव उसको मनमा खेल्न थाल्यो । ऊ सोच्न थाल्यो ।बिहान अफिस पुगे देखिका गतिबिधि सम्झदै गयो । सबै कुरा सदाझैँ रह्यो तर एउटा कुरा छुट्यो जुन हरदिन हुन्थ्यो। आज बडाहाकिमले उसलाई नबोलाइ गए। बिहान अफिस आउदा उनले हालखबर सोधेको राम्रै याद थियो । किनकि उनी मात्र एक कर्मचारी थिए जो बिहान आउदा उसलाई नमस्ते फर्काउथे र हाल खबर सोध्दथे।
त्यसै गरी बेलुकी अफिस छुटेर जादा नबिर्सीकन ऊ लगायत सबैलाई ल भोलि भेटौला, शुभरात्री आदि भनेर निस्कन्थे। उसले पुरा दिमाग लगाएर सम्झन खोज्यो। अँह, आज उनले फर्कदा ऊसङ्ग बोलेको पटक्कै पनि याद गर्न सकेन। यो त हुनै सक्दैन मैले मुल ढोका छोडेको छैन । उनले आजसम्म मलाई नबोलाई हिडेको दिन नै थिएन । उसको मनमा एउटा चिसो पस्यो। ऊ जुरुक्क उठ्यो र अघि पछिभन्दा दोब्बर रफ्तारमा साइकल कुदाएर निमेश भरमै अफिस पुग्यो।
बाहिरी ढोकाको ताल्चा खोलेर एकै सासमा हाकिमको कोठामा पुग्यो। त्यहाँ कोही थिएन । तर टेबुलमा हाकिमको टोपी देख्यो । कुदेर बाथरुमतिर गयो । ढोका बन्द थियो। थकेल्यो तर खुलेन । कान थापेर सुन्यो। ठुलो ठुलो स्याँस्याँ आवाज सुन्यो। हाकिमसाब ,हाकिमसाब भनेर चिच्यायो । ढोका ढकायो तर भित्रबाट जबाफ आएन। उसले जोडले लात्ताले हानेर ढोका खोल्यो। भित्र उसको हाकिम लडिरहेको भेट्यो। एम्बुलेन्स बोलायो र अस्पताल पुर्यायो। डाक्टरले समयमै लेराउनु भो नत्र अनिष्ट हुन सक्थ्यो भनेको सुन्यो । यसबेला उसको मन हल्का भयो ।