कोरियामा मौसमी कामदार र इजरायलको निर्माण क्षेत्र पठाउनेसहित विभिन्न ६ वटा समिति बन्यो

everest kitchen

 

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी तथा आन्तरिक श्रम बजार व्यवस्थित गर्न विभिन्न कार्यदल तथा वार्ता समिति गठन गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारी तथा आन्तरिक श्रम बजार व्यवस्थित गर्न ६ वटा कार्यदल तथा समिति गठन गरेका हुन् ।

वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐन, २०६४ मा समसामयिक सुधार एवम् परिमार्जन गर्न मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले प्रारम्भिक मस्यौदालाई अन्तिम रुप दिन सरोकारवालाहरुसँग छलफल गरी कानुन र परराष्ट्र मन्त्रालयको राय लिइ मन्त्रिपरिषदमा पेश गर्न अन्तिम मस्यौदा प्रस्तुत गर्नेछ ।

त्यस्तै, मन्त्रालयले इजरायलको निर्माण क्षेत्रमा श्रमिक पठाउन संयुक्त कार्य समूहमा प्रतिनिधित्वका लागि मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा ७ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

इजरायलको निर्माण क्षेत्रमा श्रमिक लैजाने प्रयोजनका लागि इजरायलले यसअघि नै द्विपक्षीय वार्ता र छलफलका लागि वार्ता टोली गठन गरिसकेको छ । टोलीले निर्माण क्षेत्रमा माग गरिएको श्रमिक संख्या, न्युनतम योग्यता, तालिम, छनोटको विधि, न्यूनतम पारिश्रमिक जस्ता विषयमा इजरायली टोलीसँग छलफल गर्नेछ ।

साथै मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार पठाउने बिषयमा अध्ययन गर्न मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ । दक्षिण कोरियाका स्थानीय सरकार तथा नेपालका स्थानीय सरकारबीच भगिनी सम्बन्ध कायम गर्दै मौसमी कामदार पठाउने बिषयमा अध्ययन गर्न कार्यदल बनाइएको हो । दक्षिण कोरियाको न्याय मन्त्रालयले त्यहाँको ग्रामिण क्षेत्रमा ३ देखि ५ महिनाका लागि मौसमी कामदारको रुपमा विदेशी नागरिक ल्याउने नयाँ नियम हालै जारी गरेको छ ।