गाउँपालिकाद्धारा तलब वृद्धि

everest kitchen
photo file

काठमाडौँ । हलेसी तुवाचुङ नगपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गरेको छ । सङ्घीय सरकारले दिने मासिक तलबमा नगरपालिकाको तर्फबाट रु सात हजार थपेर आगामी चैत १ गतेबाट उपलब्ध गराउने गरी वृद्धि गरेको हो ।

सरकारले चालु आर्थिक वर्षको कार्यक्रममा बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गर्ने निर्णय गरेको थियो । सरकारको निर्णयअनुसार नगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गरिएको नगरप्रमुख इवन राईले जानकारी दिए ।

एघार वडा रहेको नगरपालिकामा ८९ सामुदायिक विद्यालय सञ्चालित छन् । उक्त विद्यालयमा ५४ बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, ८९ कार्यालय सहयोगी र १२ कर्मचारी कार्यरत रहेको नगरपालिकाको शिक्षा शाखा प्रमुख पदम कार्कीले जानकारी दिए ।

सरकारले बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीलाई मासिक रु आठ हजार तथा कर्मचारीलाई रु १३ हजार उपलब्ध गराउँदै आएको छ । उक्त तलबमा नगरपालिकाको तर्फबाट तीनवटै तहका कर्मचारीलाई मासिक रु सात हजार थप गरेर उपलब्ध गराउने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

सरकारले तोके अनुसारको तलब वृद्धि गर्ने निर्णय गरेकोमा नेपाल शिक्षक महासङ्घ र नेपाल शिक्षक सङ्घ हलेसी तुवाचुङ नगरपालिका कार्यसमितिले नगरपालिकालाई धन्यवाद दिएका छन् । उक्त दुई सङ्गठनले यसअघि उनीहरूको तलब वृद्धि गर्न माग गर्दै आएको थियो ।

दश स्थानीय तह रहेको जिल्लामा ऐसेलुखर्क, बराहपोखरी, रावाबेँसी र साकेला गाउँपालिकाले यसअघि नै तलब वृद्धि गरी सकेका छन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत पाँच स्थानीय तहले अहिलेसम्म सरकारले तोकेअनुसारको तलब दिएका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा बाँकी पाँच स्थानीय तहले स्रोत अभाव देखाउँदै तलब वृद्धि गरेका छैनन् । जिल्लास्थित शिक्षक सङ्गठनले सबै सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गर्न दबाब दिँदै आएका छन् ।