समीर मल्ल
धनगढी । मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ । बिहीबार देखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले जनाएको छ ।
आजदेखि २८ गतेसम्म धनगढी रंगशालामा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लवका अध्यक्ष सुरेश हमालले जानकारी दिए । यस्तै आयोजक पत्रकार सम्मेलनमा ट्रफी पनि सार्वजनिक गरिएको छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लवको आधिकारिक जर्सी पनि सार्वजनिक गरिएको छ ।
भोलि धनगढी रंगशालामा हुने प्रतियोगिताको उद्धघाटन खेलमा मनाङ मर्स्याङ्दी क्लव र भारतको दिल्ली फुटबल क्लव भिड्ने सुदूरपश्चिम खप्तड गोल्डकपका प्रबक्ता ओम चन्दले जानकारी दिए ।
प्रतियोगितामा १० टिमको सहभागिता रहने उनले बताए। आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लव रहेका छन् ।
नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।
प्रत्येक खेलको म्यान अफ द म्याचले १६ हजार ५ सय पाउने आयोजकले जनाएको छ। प्रतियोगिता हेर्न विद्यार्थीलाई १५० रुपैयाँ र अन्यको लागि २ सय रुपैयाँको टिकट निर्धारण गरिएको आयोजकले जानकारी दिएको छ।