ठेकदारले आलटाल गर्लान् भनेर सडक बनाउन ‘गोठालो’

everest kitchen
फाईल तस्बिर

काठमाडौँ । गाउँठाउँमा चौपायाले बालीनाली खाइदिने भएर गोठालो गर्ने गरिन्छ तर काठमाडौं उपत्यकामै भने सडक नबनाउन ठेकदारले आलटाल गर्लान् भनेर स्थानीयहरू वस्तुभाउको जस्तै गोठालो लाग्दै आएका छन् ।

पासाङल्हामु राजमार्गको बालाजु–रानीपौवा खण्डमा स्थानीय आजभोलि सो सडकको निर्माण भइरहेको विषयमा नियमित अनुगमन गर्दै आएका छन् ।

यतिसम्म कि बुधबार सो क्षेत्रको सडकमा ठेकदार तथा कामदार नदेखेपछि स्थानीय सडकमा उत्रिएर फोहोर बोकेर सिसडोल गइरहेका गाडीलाई हत्त न पत्त अवरोध गर्न पुगे ।

बिहान ढिलासम्म पनि सडकमा ठेकदार कम्पनी मेसिन र कामदार नदेखिएपछि तारकेश्वर नगरपालिक–३ स्थित तीन पिप्लेका स्थानीयले फोहोरका गाडी रोकेका थिए । केही समयपछि ठेकदार तथा कामदार निर्माण क्षेत्रमा फर्किएर काम थालेपछि अहिले भने फोहोरका गाडीहरूलाई खुला गरिएको छ ।

गत १ फागुनदेखि नै स्थानीयले सडक पिच नभएको भन्दै फोहोर बोकेका गाडीहरूलाई रोकेका थिए । सडक नबनाएको विरोधमा स्थानीयले आन्दोलन गर्दा झन्डै दुई सातासम्म फोहोरका गाडी काठमाडौं उपत्यकामा रोकिएका थिए । जनप्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका प्रमुखलगायत पुगेर ठेकेदारलाई काम थाल्न निर्देशन दिएपछि फोहोरका गाडी सञ्चालनमा आएका थिए ।

आन्दोलन सुरु भएपछि सडकमा तत्कालै मर्मतको काम पनि सुरु भएको छ । स्थानीय भने ठेकेदारले काम छाडेर हिँड्ने हो कि भनेर नियमित रूपमा रेखदेख गर्दै आएको बताउँछन् ।

सडक अवरोध खुलाउने क्रममा नै उनीहरूले जुन दिन सडक कालोपत्रेका लागि भइरहेको तयारीको काम रोकिन्छ, त्यही दिन फोहोर बोकेका गाडी पनि रोकिने सर्त राखेका छन् ।

एक स्थानीय सडक विस्तारको काममा केही अलमल भएमा फोहोरका गाडी रोकिने बताउँछन् । तारकेश्वर नगरपालिका–३ का वडाध्यक्ष मनोहरी तिवारीले पनि काम रोकिएमा स्थानीयहरूले त्यहीँ समयदेखि फोहोरका गाडी चल्न अवरोध सिर्जना हुने बताउँछन् । यो समाचारराजधानी दैनिकमा छ ।