मुसिकोट नगरपालिकाद्धारा सहिद परिवारलाई सम्मान

everest kitchen

मुसीकोट । रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकाले नगर क्षेत्रभित्र रहेका शहिदका परिवार तथा आफन्तहरुलाई सम्मान गरेको छ । नगरपालिकाले यहि फागुन २० गते शुक्रबार नगर क्षेत्रभित्र रहेका सम्पूर्ण शहिदका परिवार तथा आफन्तहरुलाई सम्मान गरेको हो ।

शहिद प्रतिष्ठानको सभाहल सेरीगाउँमा सम्पन्न कार्यक्रममा नगरपालिकाका कार्यबाहक नगर प्रमुख प्रेम कुमारी सुनार केसी, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुन, सामाजिक विकास समितिका संयोजक शुसिल गौतम र वाताबरण तथा बिपद् ब्यबस्थापन समितिका संयोजक बुद्धि प्रसाद बुढाले शहिदका परिवार तथा आफन्तहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन ।

कार्यक्रममा शहिदका परिवारहरुलाई शहिदको चिनो उपहार स्वरुप काँसको थाली र यातायात खर्च बापतको रकम जनही ५ सय रुपैयाका दरले उपलब्ध गराइएको कार्यबाहक प्रमुख प्रेम कुमारी सुनार केसीले जानकारी दिईन ।

नगर क्षेत्रमा रहेका रुकुमेली कम्युनिष्ट आन्दोलनका पहिलो शहिद कामी बुढादेखि लिएर जनयुद्ध र जनआन्दोलनका क्रममा शाहदत प्राप्त गर्ने एक सय एक जना शहिदका परिवारहरुलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको आर्थिक बर्ष २०७८।७९ को बार्षिक स्वीकृत कार्यक्रम अनतर्गत जनयुद्ध र जनआन्दोलनका क्रममा शहिद तथा बेपत्ता भएका सन्तति परिवारहरुलाई सम्मान गर्ने कार्यपालिकाको निर्णय अनुसार नगर क्षेत्रभित्र रहेका शहिदका परिवार तथा आफन्तहरुलाई सम्मान गरिएको हो ।

कार्यबाहक नगर प्रमुख प्रेम कुमारी सुनार केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुन, सामाजिक विकास समितिका संयोजक शुसिल गौतम, वाताबरण तथा बिपद् ब्यबस्थापन समितिका संयोजक बुद्धि प्रसाद बुढा, नगर क्षेत्रभित्र रहेका शहिदका परिवार तथा आफन्तहरु, स्थानीय जनप्रतिनीधि, बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनीधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सर्बसाधारणहरुको सहभागिता रहेको थियो । (धनकुमार शाहीबाट )