लघुकथा – बिर्सिएका अनुहारहरु
विद्या ढकाल
रात छिप्पिंदै थियो, हँसिलो मुद्रामा कान्छी भाउजूले “ए ! आईपुग्नु भयो ” भन्दै मझेरीमा गुन्द्री ओछ्याइदिनु भयो । थकाइले लखतरान हामी “नमस्कार भाउजू” को उत्तर फर्काउँदै त्यही गुन्द्री माथि बस्यौं । भाउजूले चीसो पानीले भरिएको अम्खोरा हाम्रो सामु राखिदिनु भयो । हामी चार जना, पालैपालो पानी पियौं । भाउजू खानाको तयारीमा लाग्नुभयो ।
पन्ध्र वर्ष पुगेका छोरा टेकु गर्भमै हुँदा प्रदेशिएका कान्छा दाईको अहिलेसम्म कुनै अत्तोपत्तो थिएन । छोराको मुख हेरेर चित्त बुझाउँदै कान्छी भाउजूका दिनहरु बितिरहेका थिए । नौ कक्षामा पढ्दै गरेका टेकु सितको सम्पर्कबाट यो घर हाम्रो राम्रो ‘सेल्टर’ बनेको थियो । हामीले यो घरमा भूमिगत रुपमा भेग र जिल्लास्तरीय धेरै कार्यक्रमहरु सम्पन्न गरेका थियौँ । हरेक अप्ठ्यारा पलहरुमा यो घरले हामीलाई सुरक्षा प्रदान गरेको थियो ।
यो बीचमा करिब चालीस बसन्तहरु बिते । देशमा ठूला ठूला राजनीतिक परिवर्तनहरु भए । हामी गाउँबाट शहर छिर्यौँ । हाम्रो पार्टीले सिंहदरबारमा कब्जा जमायो ।
बिरामी आमाको (कान्छी भाउजू) उपचारको सिलसिलामा राजधानी आएका टेकु कुनै ठूलो आश लिएर होइन, पुरानो संझनाका कारण मलाई भेट्न मेरै कार्यकक्षमा आइपुगेका रहेछन् । “नमस्कार सर !” – दुई हात जोड्दै उनले भने । म अल्मलिएको देखेर उनले थपे – “म डाँडागाउँको टेकु, चिन्नुभएन ?”
मैले उनलाई जवाफ फर्काउन आवश्यक ठानिन । किनकी मैले उनलाई बिर्सिसकेको थिएँ ।