भारतमा कोरोनाभाइरसका दैनिक सङ्क्रमित दुई हजार भन्दा कम

everest kitchen

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा दुई भन्दा कम सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

गत २४ घण्टामा चार लाख ३१ हजार ९७३ जनाको कोरोना परिक्षण गरिएकोमा एक हजार ७६१ जनामा मात्र कोरोना सङ्क्रमण भएको जनाइएको छ । यद्यपी शनिबार मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार दुई हजार ७५ जनामा यो सङ्क्रमण देखिएको थियो ।

योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने २६ हजार २४० पुगेको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०।०६ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा तीन हजार १९६ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख ६५ हजार १२२ पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८।७४ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण १२७ जनाको मृत्यु भएको सो मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम पाँच लाख १६ हजार ४७९ को मृत्यु भईसकेको छ ।

भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ८१ करोड २१ लाख ११ हजार ६७५ डोज खोप लगाइएको छ ।