सहिद तथा बेपत्ता परिवारलाई मासिक सहायता उपलब्ध गराउँदै भरतपुर महानगर

everest kitchen

रत्ननगर । चितवनको भरतपुर महानगरपालिकाले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा सहिद तथा बेपत्ता परिवारलाई मासिकरूपमा आर्थिक सहायता उपलब्ध गराउन सुरु गरेको छ ।

सहिद तथा बेपत्ता परिवारको जीविकोपार्जनमा सहज बनाउन मासिकरूपमा रु दुई हजार उपलब्ध गराउन सुरु गरेको महानगर प्रमुख रेनु दाहालले बताए ।

महानगरपालिकाले आज विशेष कार्यक्रम गर्दै जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनमा सहिद तथा बेपत्ता परिवारलाई पाँच महिनाको सहायता रकम बराबर रु १० हजार एकमुष्ठ प्रदान गरेको छ । नेपालमा नै पहिलो पटक महानगरपालिकाले सहिद तथा बेपत्ता परिवारलाई आर्थिक सहायता सुरुआत गरेको प्रमुख दाहालले बताए ।

आगामी दिनमा यस कार्यक्रमलाई निरन्तर दिइने र यो रकमलाई बढाउँदै लैजाने लक्ष्य रहेको उनले बताए । महानगर प्रमुख दाहालले पीडित परिवारलाई केही मात्रमा भए पनि मल्हम लगाउन सकिन्छ भन्ने उद्देश्यले नेपालकै स्थानीय तहमा पहिलो पटक यो कार्यक्रम सुरुआत गरिएको बताए ।