लघुकथा : कार्पेट
डा. गणेशप्रसाद भट्टराई
“सर यो कार्पेट फेर्न मिल्दैन ? कस्तो गनाएको छ !” एक जना आगन्तुकले मेरो कोठामा पसेर भने ।
“यो कार्पेट त २०४८ सालमा अर्को अफिसबाट यहाँ ल्याएर हालेको हो हजुर । चानचुने हो र ! हजुरले भन्दैमा किन फेर्ने नि !” हातमा चिया बोकेर आएको कार्यालय सहयोगी बोल्यो ।
मैले दुईचार जना सेवाग्राहीबाट यो सुनिसकेको थिएँ र कार्पेट फेरि माग्न दुई जना स्टोरकिपरसँग पनि अनुरोध गरेको थिएँ तर हाकिमको आदेश नहुँदा कार्पेट शोभायमान भइरहेकै थियो ।
यसपालि च्वास्स घोच्यो र कार्पेट फेरिमाग्न पुन स्टोरकिपरकहाँ पुगेँ । उनले अधिकृतको आदेश चाहिने बताएपछि म अधिकृत साहेबकहाँ पुगेँ ।
अधिकृत साहेबले सबै कुरा सुनेर दाँतको लुई कोट्याउँदै भने,“उपसचिव सरलाई कुरा गरौँ न सर !”
मैले आदेश पालना गरेँ र उपसचिवलाई अनुरोध गरेँ ।
“म हाकिम साबको आदेश लिएर दुईतीन दिनमा फेरिदिन्छु है सर ।” उपसचिवले बस्नुहोस् पनि नभनी उत्तर दिए ।
म आदेश मानेर गन्धे कार्पेटमै बसिरहेँ । नभन्दै कार्यालयमा नयाँ सामान आउन थाले । हाकिमका कोठामा कुर्सीटेबल आए । लेखा प्रशासनतिर पनि मन लाग्दा सामान आए ।
कसैका पर्दा फेरिए । कसैका कम्प्युटर प्रिन्टर फेरिए । तीन महिना बित्यो तर मेरो कोठाको कार्पेट बसाइँ सरेन ।
यसैबिच एकदिन स्टाफ बैठक बस्यो । सबैले आफ्ना कुरा राख्ने मौका पाइयो । मैले पनि मौका पारेर भनेँ, “ हजुर मेरो कोठाको कार्पेट झिकेर सङ्ग्रहालय पठाइयोस् ।”
मेरो प्रस्ताव सुनेर बैठकका केहीमा अट्टहास छुट्यो । केही गम्भीर बने । हाकिमको अनुहारमा पहिले छाया प¥यो, त्यसपछि बादल लाग्यो र अन्त्यमा औँसीको रात देखियो ।
एक हप्ता बित्यो । म सदाझैँ स्वस्ति गर्न हाकिमकहाँ पसेँ । उनले नमस्कार नफर्काई एउटा खाम दिँदै भने, “सर ! तपाईँले कार्पेट झिकिदिनु भनेको होइन । यी लिनुहोस् आदेश ।”
मैले उनकै अगाडि खाम खोलेर हेरेँ । त्यहाँ रवानापत्रसहित खामिएको सरुवा पत्र रहेछ ।
म ढोकाबाट निस्केर हिँडेँ । हाकिम र उनको छेउमै बसेको सल्लाहकार कर्मचारीमा स्मित विजय देखियो । सायद मसान्त नबिती कार्पेट पनि फेरियो होला ।