कविता: मौनता
संगीता ढुङ्गाना दाहाल
तिम्रो यादहरुमा
तिम्रो तस्बिरलाई नियाल्छु
एकदम मौन छ
तस्बिर कहाँ बोल्छ र
तर , म भने
अनेक प्रश्न गरिरहन्छु
हेरिरहन्छु एक तमास सङ्गै
तिम्रो हँसिलो मुहार
तस्बिरमा खोज्छु
त्यो निर्जीव तस्बिर
हेर्दा हेर्दै सजीव बन्छ
अनि मेरा प्रश्न हरुको
जवाफ दिन थाल्छ
तिम्रो नशालु आँखाहरु
इशारा गर्न थाल्छन
तिर्खाएका ओठहरु
खै के के माग्न थाल्छन
मेरा अङ्ग हरुमा
तिम्रो स्पर्शको अनुभूति हुन्छ
अनायास म ठोसबाट
तरल बन्न पुग्छु
तरलतामा बग्दा बग्दै
आँखामा छाएका लज्जा भावले
तस्बिरमा अडिएका आँखा
झिमिक्क परेली झिमक्याउँछू
फेरि परेली उठाउँदा
पलभरमा तिम्रो तस्बिर
सजिवबाट निर्जीव बनिसकेको पाउँछु
मेरो लाजको घुम्टो ओढेर
मात्र मौन बसेको थियो
मात्र मौन ——–!!!!