विपेन उलङगे
देशमा संघीयता लागु भएसंगै गाउँघरमा सिंहदरबारको परिकल्पना गरियो । तीनतहको सरकारमध्ये जनताको घरआगनको सरकार स्थानीयतह नै हो । देशभर ७ सय ५३ स्थानीयतहहरु छन् । जसमध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका पनि चर्चित स्थानीयतह हो भन्दा फरक नपर्ला । हामी हरेक नागरिकले आफ्नो स्थानीयतहको निगरानी तथा खबरदारी गर्न आवश्यक छ ।
आगामी वैशाख ३० मा स्थानीयतहको चुनाव हुदैछ । त्यसपछि नयाँ जनप्रतिनिधि सत्तामा आउने र पुरानाको बहिरगमन हुने तयारीसमेत हुदैछ । पहिलोपटक जननिर्वाचित जनप्रतिनिधि र स्थानीय सरकारले गाउँमा के कस्तो प्रभाव र कार्य गरे भन्ने बारे केलाउन जरुरी छ ।
रुकुम पश्चिमको त्रिवेणीको हकमा यहाँ १० वडाहरु छन् यहाँका अधिकांश वडा नेकपा (माओवादी केन्द्र)ले हात पारेको छ । गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्ती र उपाध्यक्ष निर्मला विष्ट खडका पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका थिए । यस्तैमा पालिकाको ७ नम्बर र १० नम्बर वडामात्रै नेपाली काङ्ग्रेसले जितेको छ ।
त्रिवेणीको कुरा गर्दा जिल्लाकै प्रमुख प्रवेश द्धार भएकोले पनि यहाँ विकासमा केही हदसम्म सजिलो भएको देखिन्छ । तर यस्तै अन्य स्थानीयतह जस्तै यहाँ पनि जनताले सोचे अनुसार काम नभएको भन्ने गुनासा भने प्रसस्तै भेटिन्छन् । यद्यपि सरकार प्रति धेरै गुनासाहरु रहेपनि यहीँ नै प्रमुख समस्या हो, जनप्रतिनिधिले यस्तो गल्ती गरे, यो गर्नुपर्ने थियो, भनेर कसैले ताकेता तथा दबाब सिर्जना गर्ने गरेको खासै देखिदैन ।
गाउँपालिकाभरी यो पाँच वर्षमा साना ठुला गरेर हजारौं आयोजनाको काम भएको देखिन्छ । जसमध्ये दुई दर्जन ठुलो आयोजना पनि सञ्चालन तथा निर्माणको क्रममा रहेका छन् । ती सबै आयोजनामा लाख, करोड हैन अर्बबढीको लगानी सरकारले गरेको छ ।
संघीयता अघि एउटा गाविसमा मुस्किलले १० लाख बजेट आउनेमा बर्षेपनि करोडौं बजेट गाउँमा आउनु संघीयताको प्रमुख सकरात्मकपक्ष हो । तर उक्त बजेट सही सदुपयोग नभएर दुरुपयोग बढ्नु पनि अर्को बिडम्बना मात्रै नभएर महामारी रोग पनि हो । बजेट दुरुपयोग रोक्नु आम जनताको कर्तव्य हो । ताकि समाजिक सञ्जाल तथा चिया गफमा मात्रै बिरोध गर्नु ठिक हैन ।
सामान्य किसान परिवारमा जन्मेर जनयुद्धहुदै स्थानीय सरकारको नेतृत्व सम्म आइपुगेका गाउँपालिका अध्यक्ष झक्कु प्रसाद घर्ती मगर र सामान्य किसान परिवारमै जन्मेर जनयुद्ध जस्तो आन्दोलनमा लागेर श्रीमानसमेत गुमाएकी गाउँपालिका उपाध्यक्ष निर्मला विष्ट खडकाले अब जेठमा सत्ता छोड्नुपर्ने छ । उनीहरूले सत्तामा रहदा थुप्रै काम गरे होलान् कति जनताबाट रुचाईयो, कति रुचाईएन भनेर लेखाजोखा गरेर हिसाब गर्न नसकिएला तर समग्रमा केही सकरात्मक, नकारात्मक कुराहरू भने पक्कै जनता माथि स्थापित छन् । सोही अनुसार स्थानीयहरुले आ-आफ्नो मुल्यांकन गरेका होलान ।
केही समयअघि गाउँपालिका लेखापाल र हाकिमहरुको गतिविधिहरुले नकारात्मक रुपमा चर्चामा आएको गाउँपालिका पछिल्लोपटक सुधारउन्मुख भने पक्कै देखिन्छ । पछिल्लोपटक गाउँपालिकाको प्रशासनीक कार्य सम्हालेका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुनको कार्यकालमा खासै त्यस्तो नकारात्मक टिप्पणीहरु सतहमा नआएपनि स्थानीय सरकार प्रति गुनासा भने निरन्तर रहेको पाईएको छ ।
रमेश पुन अघि तीन जना शाखा अधिकृतहरुले प्रशासनिक काम सम्हालेपनि करिब डेढबर्षदेखि भने रमेश पुनले निमित्तको रुपमा कार्यालय सञ्चालन गर्दै आएका थिए । तर गएको चैत १४ देखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा प्रेम बहादुर घर्तीले जिम्मेवारी सम्हालेका छन् । घर्तीका अनुसार निमित्तको रुपमा काम गरेका पुनले सकरात्मक काम गरेको प्रतिक्रिया आफुले पाएको बताए । साथै उनले स्वागत कार्यक्रमको अवसरमा आफुले जिम्मेवारी पूर्वक काम गरेर गाउँपालिकालाई योगदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । उनको कार्यकाल भने कस्तो रहन्छ हेर्न बाँकी छ, शुभकामना ।
गाउँपालिका सरकारले गरेका केही काम तथा प्रतिक्रिया
— सबैभन्दा पहिला त सबै त्रिवेणी वासीको पायक पर्ने स्थान त्रिवेणी गाउँपालिकाको केन्द्र खारानेटा सार्नु उचीत निर्णय मान्न सकिन्छ । साथै उक्त स्थानमा करिब ५४ रोपनी बढी जग्गा निशुल्क उपलब्ध हुनु खुसीको कुरा हो । गाउँपालिका अध्यक्ष घर्तीका अनुसार सबैलाई पायक पर्ने स्थानमा केन्द्र राख्दा पनि ठुलो संघर्ष गर्नुपरेको उनी बताउछन । घर पायक पर्ने स्थानमा केन्द्र राख्ने अवसर हुदा पनि र चौतर्फी दबाबकाबीच पनि जोखिम मोलेर सबैलाई पायक पर्ने स्वच्छ र सुन्दर स्थानमा केन्द्र राखेको उनी बताउँछन् ।
हाल कायम रहेको केन्द्र पालिकाको वीच डाडोमा रहेको छ । पालिका केन्द्रलाई प्रमुख सडक सञ्जालले छोएको छ भने , विद्युत, खानेपानीको व्यवस्थापन रहेको छ । पालिकाका सम्पुर्ण वडा तथा गाउँबस्तीहरु अवलोकन गर्नसक्नु उक्त स्थानको सुन्दर पक्ष हो । केन्द्रको हकमा खासै प्रतिक्रिया छैन ।
— त्रिवेणीको सबै जसो वडा तथा टोलहरुमा सडक सञ्जाल छ । त्यसमध्ये पनि राप्ती राजमार्ग गाउँपालिकाको बीच भएरै गएको छ । साथै गाउँपालिका भित्रका प्रमुख गाउँहरु सिम्रुतु- खुम्चेरी, खारानेटा-विता, सिम्रुतु-रुंघा,सिम्रुतु-गैरीनेटा, झुल्नेटा-नुवाकोट, पेउघा जिउला रोड कच्ची तथा गरावेल स्तरउन्नती हुनु राम्रो पक्ष हो । तर ती आयोजनाको पारदर्शीता तथा प्रभावकारितामा सबैले ध्यान दिन जरुरी छ ।
–त्रिवेणीको करिब ९० प्रतिशत भूभागमा विद्युतको पहुँच पुर्याउनु गाउँपालिकाले पहल नेतृत्व लिनु ठीक हो । तर स्थानीय स्तरमा उत्पादन भैरहेका लघुजल बिद्युतलाई उचित व्यवस्थापन तथा सञ्चालनमा प्रभावकारिता बनाउनु पर्थ्यो ।
— गाउँपालिकाले पालिका भित्रका सामाजिक विद्यालयहरुलाई पुर्णतः अनुदान उपलब्ध गराएको पाएको छ । जसले गर्दा विद्यालय सञ्चालन तथा पठनपाठन सहज भएको छ । त्यस्तै पालिका भित्र उच्चमावि र क्याम्पस सञ्चालनमा रहनु, प्राविधिक विषय समेत पनि पढाई हुनु सकारात्मक पक्ष हो । तर गाउँपालिकाले उत्कृष्ट पठनपाठनका लागि शिक्षक तथा विद्यार्थीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेपनि कार्यक्रम प्रभावकारी नबन्नु दुखद हो । स्मार्ट कार्यक्रम र सयन्त्रको आवश्यक छ ।
–गाउँपालिका स्थापना पछि त्रिवेणीमा पर्यटन पुर्वाधार बजेट पनि राम्रो आएको छ । पर्यटन पुर्वाधार अनुसार धुमभिर जनयुद्ध संग्राहलय आयोजना सञ्चालन निर्माणको चरणमा रहेको पाईएको । यसले समग्र त्रिवेणीको पर्यटनको भविष्य भने पक्कै बोकेको छ । तर यसलाई स्थानीय कृषि पर्यटन संग जोड्न जरुरी छ ।
— गाउँपालिका स्थापना पछि १५ शैय्याको अस्पताल सञ्चालनमा आएको छ । उक्त अस्पतालले कोभिड नियन्त्रणमा मुख्य भूमिका खेलेको थियो । अस्पतालमा थप सुबिधा विस्तार भैरहेको पाईएको छ । त्यस्तै पालिकाका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र बन्नु र केही स्वास्थ्य केन्द्र वर्थिङसेन्टर बन्नु पनि गाउँपालिकाको ठुलो सफलता मान्न सकिन्छ । तर स्थानीयमा जनचेतनाको कमीले मेडिकलहरुमा धाउने र स्वास्थ्य जोखिम पार्ने, अस्पताल तथा स्वास्थकेन्द्रमा अतिआवश्यक स्रोतसाधनको कमी र आवश्यकता अनुसारको अौषधि नहुनु दुखद कुरा हो । यसलाई तुरुन्तै सच्याउन सक्नुपर्छ ।
— वर्षौं पहिलेदेखि पानीको प्रमुख समस्या भोगि रहेको त्रिवेणीका ९ नम्बर र १० नम्बरमा अवस्थित घोर्लेबोट, बरनेटी, टोड्के तीन वटा गाउँमा लिफ्ट खानेपानी आयोजना निर्माण गरेर सञ्चालन गर्नु सबैभन्दा राम्रोपक्ष हो । जीवनभर घण्टौ हिडेर पानी बोक्ने ती गाउँहरुमा अहिले पानीको सुबिधा हुनु खुसीको कुरा हो । तर उक्त आयोजनालाई निरन्तरता दिनु मुख्य चुनौती हो ।
— त्रिवेणीको ६ नम्बर वडामा रहेका दवाङ अदुवा प्रशोधन उद्योग सञ्चालनको तयारी र सोही स्थानमा गार्मेन्ट उद्योग सञ्चालन हुनु गाउँपालिका उद्योगीक बन्न तिर लागेको संकेत गर्छ । तर ती उद्योगहरुको उपयोगीता र उचित सञ्चालन निरन्तर रहने, त्यसले पालिकालाई कसरी अर्थतन्त्रमा सहयोग गर्छ र सरकारको लगानी सुरक्षित रहन्छ भन्ने मुख्य चुनौती हो ।
— प्रमुख पेशा कृषि रहेको गाउँपालिकाका वासिन्दाको लागि गाउँपालिका भित्र २०० मेट्रिक टन क्षमताको कोल्ड स्टोर बन्नुपनि झन राम्रो पक्ष हो । उक्त स्टोरमा पालिका भित्र उत्पादन हुने कृषि बालि तथा फलफूल भण्डारण हुनेभएपछि उत्पादनले उचित मुल्य पाउनुका साथै खेरजान बाट बच्ने भयो । तर यसलाई निरन्तर आर्थिक क्रियाकलापमा जोडेर संरचनाको संरक्षण, प्रबर्द्धन, सञ्चालन गर्न सामान्य सोचले पुग्दैन ।
— त्यस्तै गाउँपालिका भित्र ११ वटा झोलुङ्गे पुल निर्माण हुनु, र मालुवाखोला, बल्लेखोला, वेतुखोला सिचाइ कुलो तथन लसुन खोला लिफ्ट सिचाइ आयोजना हुनुपनि कृषि उत्पादनको लागि राम्रो पक्ष हो । तर ती आयोजनाको प्रभाव, सन्तुलन र सही तरिकाले निर्माण भएभएनन भन्ने तिर ध्यान जान जरुरी छ ।
— यस्तै गाउँपालिकाको आफ्नै प्रशासनिक भवन, दुई ठुला सभाहलहरु निर्माण हुनु, दहबाङ खेलमैदान बनेको पाईएको छ । यो राम्रो पक्ष हो तर कुनै पनि संरचना निर्माण गर्दा प्राकृतिक सम्पदा दोहन हुनुहुँदैन ।
— साथै, गाउँपालिकाले सयौं अपांगलाई परिचयपत्र वितरण गरेर भत्तासमेत उपलब्ध गराउदै आएको पाईएको छ, जनता आवास, सुरक्षित आवास अनुसार दर्जनौंले घर र टिनको छाना पाएका छन् । तर आफ्नालाई मात्रै त्यस्तो सुविधा दिएको गुनासो पनि सुनिदै आएको छ । यद्यपि गुनासो अनुसार भएको हो भने सबैभन्दा पहिला आवश्यकता कसलाई छ त्यसलाई गाउँलेनै सिफारिस गर्न सक्नुपर्छ ।
के गर्न बाँकी छ गाउँपालिका सरकारले ?
— कृषि उत्पादनको बजारीकरणको लागि हाटबजार निर्माण गर्न बाँकी छ ।
–स्वास्थ्य सचेतना पुर्ण रुपमा फैलाउने र अनिवार्य स्वास्थ्य विमाको निति बनाउन जरुरी छ । जसले गर्दा कम आय भएकाले पनि सहज उपचार पाउनेछन् । स्वास्थ्य सचेतनाले गर्दा अनावश्यक अौषधी प्रयोग बन्द हुनेछ र स्वास्थ्य जीवन रहन्छ ।
— पर्यटन र कृषिलाई जोडेर बढीभन्दाबढी पर्यटन पुर्वाधार निर्माण गर्ने । सोच्छ मनोरञ्जन, टुरिष्ट स्टान्डर्ट होटल, होमस्टे सञ्चालनमा प्रेरित गर्ने कार्यक्रम लागु गर्ने ।
— विदेशबाट सीप सिकेर फर्केका युवाहरूको सीपको प्रयोग गर्ने गरी उत्पादन मुलक प्रोत्साहन कार्यक्रम तथा राम्रो भिजन भएका युवालाई सहुलियत ऋण उपलब्ध गराउने ।
— विद्यालयमा शिक्षकले अनिवार्य विषयत कोर्स पुरा पढाउनुपर्ने पुरानगरे तलब कटौती गरिदिने । बर्षमा अतिरिक्त १ महिना मात्रै ट्युसन पढाउन दिने निती लिनुपर्ने ।
— गरिब तथा उत्कृष्ट बिद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने ।
–बांझो खेत र बारीको तिरो (कर) दोब्बर लगाउनुपर्ने ।
–अनुदान भन्दा पनि सहुलियतपर्ण ऋणको पहल गर्ने…..आदी… बाँकी तपाईं थप्नुहोस ।