किसानलाई गहुँ भित्र्याउने चटारो, दललाई चुनावको

everest kitchen

भजनी । कैलालीको भजनी नगरपालिका–६ का लालबहादुर चौधरी यतिबेला मङ्सिरमा लगाएको गहुँ भित्र्याउने चटारोमा छन् । स्थानीय तहको निर्वाचनका लागि नेताहरू गाउँमा आउन थाले पनि लालबहादुरलाई कुनै पनि पार्टीका नेतालाई भेट्ने फुर्सद छैन ।

राजनीतिक दलका नेताहरू चुनावी प्रसारमा घरघर पुग्न थाले पनि किसानसँग पार्टीका नेताको भेट हुन सकेको छैन । त्यसैले पनि होला यतिबेला राजनीतिक दलका चुनाव मुखी प्रचारप्रसार पनि कम भएको देख्न सकिन्छ ।

लालबहादुर मात्रै नभई उहाँका सबै परिवार गहुँ भित्र्याउन व्यस्तमात्रै छैनन् अर्कोतिर चैते धान रोप्ने कामले पनि फुर्सद छैन । “कामको निकै चटारो छ, गहुँ भित्र्याउने चटारो एकातिर छ भने चैते धान रोप्ने चटारो अर्कोतिर”, लालबहादुरले भने, ‘मौसम राम्रो छ, यहीँ मौका छोपेर खेतमा लगाएको गहुँ भित्र्याउन सकेपछि मात्रै अरु कुराका बारेमा सोच्न सकिने छ ।’

उनले धानबाली बाढीका कारण सबै तहसनहस भएको बताउँदै गहुँ बेचेर धान रोप्दा लागेको खर्च तिर्नुपर्ने बाध्यता भएको सुनाए । भजनी–३ का दलबहादुर साउद गहुँखेती भित्र्याएर अहिले चैतेधान रोप्नमा व्यस्त रहेका छन् । वर्षातको समयमा बढी डुबान हुने क्षेत्रको जग्गा भएका कारण उनले वर्षातमा धान रोप्न पाएनन् । मङ्सिरमा लगाएको गहुँ भित्र्याएर चैतमा रोपेको धान जेठको अन्तिममा भित्र्याउने गरी धान रोपाइँ भइरहेको दलबहादुर बताउँछन् ।

“काम नगरेर साँझ बिहानको गुजारा कसरी गर्ने रु वर्षातमा खेतमा कुनै खेती हुँदैन, त्यहीँ भएर पनि यो अहिलेको समय हाम्रा लागि निकै महत्वपूर्ण छ”, दलबहादुरले भने, “हामीलाई चुनावको भन्दा बढी चिन्ता गहुँ बाली भित्र्याउने र धान रोप्नेको छ, समय भयो भने भोट हाल्न जानुपर्ला होइन भने कामभन्दा ठूलो हाम्रा लागि चुनाव होइन ।”

उनले यसभन्दा पहिले पनि भोट माग्न आएकालाई भोट दिए पनि नेताहरूबाट पाएको आश्वासन पूरा नभएको गुनासो गरे ।

कैलालीकै टीकापुर नगरपालिका–७ का लालवीर चौधरीले प्रचण्ड गर्मीलाई बेवास्ता गर्दै गहुँ काट्ने काममा किसान लागेको बताएका छन् । “नेताहरू चुनावी प्रचारका क्रममा टोल कमिटी गठनदेखि आफ्नो पक्षमा माहोल बनाउन आउँछन्, अब यो समयमा हामीलाई पनि चुनावी प्रचारका लागि आग्रहसमेत गर्छन्”, चौधरीले भने, “हामी भने बिहानदेखि साँझ अबेरसम्मै खेतमा काम गरिरहेका छौँ, वर्षभरि खाने अन्न भित्र्याउनुभन्दा ठूलो पार्टीको चुनावी प्रचारप्रसार हाम्रा लागि हुन सक्दैन ।”

टीकापुर–४ का रामभजन चौधरी पनि गहुँ भित्र्याउन दिनरात नभनी खेतमा सक्रिय रहेको बताउँछन् । उनले एक बिघा क्षेत्रफलमा गहुँ खेती गरेका छन् । “एक बिघा जति अधियाँमा गहुँ पनि लगाएको छु, त्यहीँ गहुँ भित्र्याउन अहिले भ्याइनभ्याइ छ”, उनले भने । “सबै परिवार नै अहिले गहुँ काट्नमा व्यस्त छौँ, निर्वाचनमा नेताले किसानलाई आश्वासनमात्रै दिन्छन्, हाम्रा दुःख कसैले देख्ने होइन, खेतीका बेला सिँचाइका लागि पानी हुँदैन, भोट माग्दा आउँदा कुरा ठूला गर्छन् ।”रासस