पहिलोपटक त्रिवेणीमा ६ हजार २५५ बालबालिकाले लगाए टाइफाइड बिरुद्धको खोप

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा ६ हजार २५५ बालबालिकाले टाइफाइड बिरुद्धको खोप लगाएका छन् । १५ महिना देखि १५ बर्ष उमेर समुहका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाएको हो ।

गएको २५ गतेदेखि ३० सम्म सञ्चालन गरेको खोप अभियानमा गाउँपालिका भरीका ६ हजार २५५ बालबालिकाले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख प्रेम पुनले जानकारी दिए । उनका अनुसार गाउँपालिका भरी १५ महिना देखि २३ महिना भित्रका ३२९ बालबालिका र २ बर्षदेखि १५ बर्ष उमेर भित्रका ५ हजार ७६२ बालबालिकाले टाइफाइड बिरुद्धको खोप लगाएका हुन ।

सरकारले पहिलोपटक सुरु गरेको टाइफाइड बिरुद्धको नियमित खोप अभियान अन्तर्गत गाउँपालिका भरीका ४१ विद्यालयमा स्वास्थ्यकर्मी खटाएर खोप अभियान सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्तीले जानकारी दिए ।

अन्य नियमित खोप अभियान गाउँघर क्लिनिकमा सञ्चालन गरिदै आएकोमा बालबालिकाको सहजता र सबैमा पहुँच पुगोस् भनेर बिद्यालयमा खोप अभियान सञ्चालन गरेको अधिकृत घर्तीले बताए ।

खोप अभियानपछि टाइइफाइड विरुद्धको खोपलाई नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्ने स्वास्थ्य मन्त्रालयले तयारी थालेको छ । सरकारले नियमित खोप कार्यक्रममा समावेश भएपछि १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गर्नेछ । यो अभियान दक्षिण एसियाकै पहिलो हो ।