लघुकथा: ह,त्यारा
धनसिह विश्व
मनभरि नयाँ जागृति र उत्साह बोकेर माली बिहानै उठेर आफ्ना बगैँचामा पुगे। त्यहाँ केही फूलहरू लतारिएर पत्र दलहरू भूँईभरि छरिएका थिए भने अन्य फूलहरू शितरूपी आँसु बोकेर चिसा भैसकेका थिए , शायद रातभरि रूए होलान्।
आत्तिएर पसिनै पसिना भएको फूलहरूलाई देख्ता माली तीन छक्क परे। ठूलो सास फेरेर थचक्क भुइँमा बसे अनि बिस्तारै फूलहरुलाई सुस्तरी सुम्सुमाए। एक एक गर्दै उठाएर केही मल , माटो, पानी र थाँग्रा लगाए। लामो सुस्केरा हाल्दै चारैतिर दृष्टि फैलाए । हत्यारा फूलको बिटा काखी च्यापी हातमा कमण्डलु बोकेर मन्दिरको ढोकातिर प्रस्थान गरेको देखे । उनले मनमनै सोचे ,
“ हत्यारा त हत्यारा नै हो , चाहे त्यो निर्जिव फूलको होस् वा कुनै सजीव प्राणीको । ´´