आज साँझसम्म महानगर र उपमहानगरको साझा उम्मेदवार तय हुन्छ : अध्यक्ष प्रचण्ड

everest kitchen

काठमाडौं । सत्तारुढ गठबन्धनले आज साँझसम्म महानगर र उपमहानगरपालिकाको साझा उम्मेदवार टुङ्गो लगाउने भएको छ । पछिल्ला केही दिनदेखि लगातार आन्तरिक छलफलमा रहेका दलले छ महानगर र ११ उपमहानगरपालिकाको साझा उम्मेदवार तय गर्ने भएका हुन् ।

गठबन्धनमा आबद्ध नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहमतिका आधारमा साझा उम्मेदवार तय गरिने जानकारी दिए ।

काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज र विराटनगर गरी छ वटा महानगर पालिका छन् । त्यसमा नेपाली कांग्रेसले तीन वटा महानगरपालिका पाउनेछ भने माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले एक/एक वटा महानगरपालिका लिने गरी सहमतिको नजिक पुगेको उनले जानकारी दिए । यही ढाँचामा उपमहानगरपालिकाको पनि नेतृत्व बाँडफाँट हुने बताइएको छ ।

त्यस्तै नगरपालिका र गाउँपालिकाको हकमा निर्णय गर्ने अधिकार जिल्ला समितिलाई नै दिइएको छ । जिल्ला समितिले टुङ्गो लगाउन नसकेका र मतैक्य हुन नसकेका स्थानमा भने केन्द्रकातर्फबाट सुझाव दिएर निष्कर्ष निकालिने उनको भनाइ छ ।

कतिपय जिल्लामा गठबन्धनले साझा उम्मेदवार तय गरी घोषणासमेत गरिसकेका छन् भने केही जिल्लामा छलफल जारी छ । निष्कर्ष निस्कन बाँकी रहेका जिल्लाकोसमेत छिट्टै परिणाम सार्वजनिक हुने अध्यक्ष प्रचण्डको भनाइ छ ।

फरक एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले आफूहरुलाई भरतपुर महानगरपालिका नै चाहिन्छ भनेर गरिएको प्रचारमा सत्यता नभएको बताए । उनले भने, “गठबन्धनका दलबीच सहमति गर्दा, एउटा महानगरपालिका माओवादीले पाउने भन्ने छ । त्यसमा जुन सहज हुन्छ, त्यही लिने भन्ने कुरा हुन्छ । सोही दिशामा नै छलफल भइरहेको छ ।”

उनले माओवादीलाई महानगरपालिकामध्ये जुनसुकै एउटा दिए पनि हुन्छ भन्ने कोणबाट छलफल भएको बताए । उनले भने, “सहजताका हिसाबले जुन उपयुक्त लाग्छ, त्यही निर्णय हुन्छ ।”